३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


कञ्चनपुरमा दश वर्षमा १०२ जना एचआइभी संक्रमितको मृत्यु


0
Shares

कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा रहेको एचआइभी एड्स उपचार कक्षका जनस्वास्थ्य निरीक्षक नन्दराम भट्टले जिल्लामा रहेका ४१८ जना एचआइभी संक्रमितमध्ये १०२ जनाको हालसम्म मृत्यु भएको जानकारी दिए ।

उनले एचआइभी/एड्स औषधि सेवन गर्न सम्पर्कमा नआउँदै २५ र औषधि सेवन गरिरहेका मध्येबाट ७७ जनाको मृत्यु भएको बताए । २१ बालबालिकासहित ३६८ जनाले नियमित औषधि सेवन गरिरहेको बताउँदै जनस्वास्थ्य निरीक्षक भट्टले पछिल्ला वर्षमा एचआइभीका संक्रमितहरु बढ्दै गइरहेको बताए ।

‘सम्पर्कमा आएकामध्ये २२ जनाले औषधि नै सेवन गरेनन्,’ भट्टले भने, ‘दश जनाले औषधि सेवन गर्न बीचमै छाडे ।’ संक्रमितहरु अञ्चल अस्पतालमा निःशुल्क औषधि लिन र स्वास्थ्य चेकजाँचका लागि नियमित आउने गरेका छन् ।

‘शुरुमा त संक्रमित खुलेर आउनै अप्ठ्यारो मान्थे,’ जनस्वास्थ्य निरीक्षक भट्टले भने, ‘अहिले नियमित आएर औषधि लिएर जान्छन् ।’ उनले संक्रमितको स्वास्थ्य परीक्षणदेखि विभिन्न किसिमका सुविधा अस्पतालले दिँदै आएको बताए । (रासस)