
बृहत् लक्ष्यका साथ चुनावी तालमेल र पार्टी एकताकोसमेत निर्णय भएको दाबी गर्दै गठबन्धनमा सहभागी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बागी उम्मेदवारी दिएका जुनसुकै उम्मेदवारले तोकिएको समयभित्र नलिएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा आइतबार उम्मेदवारी दर्ता गराउनेक्रममा केही जिल्लामा बागी उम्मेदवारी दर्ता गराइएको छ ।
जाजरकोट, रामेछाप, हुम्ला, बझाङ, मनाङलगायतका जिल्लामा बागी उम्मेदवारी परेको छ ।
दुवै पार्टीले मंगलबारसम्म आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका नेता तथा कार्यकर्ताले फिर्ता लिने विश्वाससमेत लिएका छन् ।
जाजरकोटमा वाम गठबन्धनका आधिकारिक उम्मेदवार शक्ति बस्नेतविरुद्ध एमालेका नेता गोविन्दविक्रम शाहले उम्मेदवारी दिएका छन् ।
यस्तै, रामेछापमा माओवादी केन्द्रका उम्मेदवार श्यामकुमार श्रेष्ठविरुद्ध लक्ष्मी गुरुङ, प्रदेशसभामा एमालेका शान्ति पौडेलविरुद्ध माओवादीका हेमन्त पौडेल र कैलाश ढुंगेलविरुद्ध माओवादीका मैनकुमार मोक्तानले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, हुम्लामा माओवादी केन्द्रका उम्मेदवार छिमी लामाविरुद्ध छक्कबहादुर लामा र सोनामग्याजेन लामाले उम्मेदवारी दर्ता गराएका छन् ।
मुगुमा गठबन्धनको उम्मेदवारीविरुद्ध माओवादी केन्द्रका स्थानीय नेताले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, रुकुम पूर्वमा पनि वाम गठबन्धनविरुद्ध बागी उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार कमला रोकाविरुद्ध तेजेन्द्र खाममगर र प्रदेशसभाका सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार तेजबहादुर ओलीविरुद्ध पूर्णिराज घर्तीको उम्मेदवारी परेको छ ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका सबैलाई मंगलबारसम्म फिर्ता लिन आग्रह गरिएको जानकारी दिइन् ।
उनले भनिन्–‘केही साथीहरुलाई चित्त नबुझेको अथवा तलमाथि भएको भन्ने परेको हुनसक्छ, उहाँहरुलाई कहीँ न कहीँ व्यवस्थापन गर्ने विषयमा पार्टीले सोचेको छ । पार्टीको सिपाही भएका नाताले उहाँहरुले उम्मेदवारी फिर्ता लिनुहुन्छ भन्ने विश्वास लिएका छौं ।’
पार्टी एकता र वामपन्थी दलहरुबीचको तालमेल गर्दा पार्टीका तर्फबाट दाबेदार रहेका तर उम्मेदवार हुन नपाएकालाई धैर्य र संयमित हुन एमालेले आग्रह गरेको छ ।
एमालेले आगामी दिनमा त्यस्ता नेता तथा कार्यकर्तालाई प्राथमिकतामा राखेर निर्णय गर्नेसमेत बताएको छ ।
केही दिनपहिलेको स्थायी समितिको बैठकले पार्टीको आधिकारिक लाइनविपरीत नजान नेता तथा कार्यकर्तालाई आग्रह गरिसकेको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले केही जिल्लामा समस्या रहेपनि मंगलबारसम्म एमालेका तर्फबाट बागी उम्मेदवारी दिएका सबैको फिर्ता हुने जानकारी दिए ।
उनले बझाङको समस्या समाधान भएको, बाग्लुङमा मिलाउनेक्रम जारी रहेको र दोलखामा भने एमाले नेता लालकुमार केसीले नेकपा मालेका तर्फबाट उम्मेदवारी दिएकाले फिर्ता गराउन केही गाह्रो भएको बताए ।
नेता श्रेष्ठले एमालेका तर्फबाट उम्मेदवारी दर्ता गरिएको स्थानमा माओवादी केन्द्रका तर्फबाट दर्ता भएका बागी उम्मेदवारी फिर्ता हुने विश्वास व्यक्त गरे । रासस
प्रतिक्रिया दिनुहोस्