
चाइना साउथ एसिया एक्स्पो सचिवालयले सन् २००३ देखि महत्वका साथ चीनको कुनमिनमामात्रै गर्दै आएको एक्स्पो पहिलोपटक चीनबाहिर नेपालमा हुन लागेको हो ।
आगामी कात्तिक १६ गतेदेखि १९ गतेसम्म तीन दिन प्रदर्शनीमार्गस्थित भृकुटीमन्डप प्रदर्शनी केन्द्रमा एक्स्पो हुन लागेको हो ।
आयोजकले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी यसबारे विस्तृत् जानकारी गराएका हुन् ।
प्रदर्शनी युनान् इन्टरनेसनल एक्जिबिसन अफेयर्स ब्युरो र नेपाल–चीन कार्यकारी परिषदको सहयोगमा हुन लागेको हो ।
परिषदका अध्यक्ष अनुपरन्जन भट्टराईले नेपाली उत्पादन चिनियाँ बजारमा प्रवद्र्धनका लागि महत्वपूर्ण अवसर बन्दै आएको एक्स्पो यसपटक नेपालमै हुनु उपलब्धिमूलक रहेको दाबी गरे ।
एक्स्पोमा चीन र दक्षिण एसियाका २०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।
युनान प्रान्त नेपालजस्तै पहाडी तर कृषि क्षेत्रमा धेरै प्रगति गरेकाले कृषि प्रविधि हस्तान्तरणका लागि प्रदर्शनी फलदायी हुने विश्वास गरिएको छ ।
मेलामा १५० ओटा स्टल रहने जनाइएको छ । साइटमा प्रत्यक्ष बिक्रीभन्दा अर्डरका हिसाबले १० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएका छन् ।
वस्तु ल्याएर प्रत्यक्ष कारोबारका लागि भन्सारमा प्रक्रियागत झन्झट रहने गरेको भट्टराईले उल्लेख गरे ।
ब्रान्डेड एक्स्पो दाबी गरिएको प्रदर्शनीको १ लाख बराबरले अवलोकन गर्ने अनुमान आयोजकको छ ।
प्रतिक्रिया दिनुहोस्