२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


इलाममा ‘हेभी वेट’सँग भिड्न काँग्रेसका पूरानै अनुहार, भिडन्त रोचक


0
Shares

प्रतिनिधि सभा निर्बाचनका लागि दुईवटा क्षेत्र रहेको इलाममा नेपाली राजनीतिका ‘हेभी वेट’का नेताहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । लोकतान्त्रिक र बाम गठबन्धनका बीच इलाममा रोचक भीडन्त हुने देखिएको छ ।

नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुभाषचन्द्र नेम्बाङ र एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग भीड्न काँग्रेसका पनि पूरानै अनुहार दौडधुपमा छन् । यद्यपी, उम्मेदवारको नाम भने अन्तिम टुंगो लागिसकेको छैन् ।

इलाम क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका तर्फबाट बेनुपराज प्रसाई नै एमाले बरिष्ठ नेता खनालसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।

क्षेत्र नम्बर २ बाट भने पूर्वसभामूख सुभास नेम्बाङसँग काँग्रेसका पूर्व जिल्ला सभापति केशब थापा नै मैदानमा उत्रिने लगभग पक्का छ ।

काँग्रेसबाट भेषराज आचार्य र निर्मला प्रसाईं पनि दाबेदारका रुपमा उभिएका छन् । तर आचार्यलाई पार्टी सभापतिका लागि तयारी गर्न कार्यकर्ताबाट दबाब आउन थालेपछि उनी के गर्ने भन्ने अन्योलमा छन् । तर पनि उनी टिकटकै रेसमा छन् । यसअघि सांसद भइसकेकी प्रसाईं प्रत्यक्ष चुनाव भीड्ने मुडमा नरहेको बुझिएको छ ।

स्थानीय तह निर्बाचनमा बढी स्थानमा विजयी हासिल गरेको एमालेसँग काँग्रेसका आंकाक्षीहरु प्रतिनिधि सभा निर्बाचनमा स्थानीय तहजस्तो एमालेको पक्षमा परिणाम आउन नसक्ने भन्दै निर्धक्क चुनावी मैदानमा छन् ।

बाम गठबन्धनबाट थोरै झस्किएको काँग्रेस पछिल्लो राजनीतिक उतारचढावपछि केही उत्साहित भएर चुनावी प्रचारमा उत्रिएको छ ।

एमाले भने गठबन्धन नहुँदै पनि इलामका दुईवटै क्षेत्रमा आफ्नो पोल्टामा पर्ने विश्वासमा छ । तर गठबन्धनमा केही असन्तुष्टीहरु बढन थालेपछि काँग्रेस उत्साहित देखिएको छ ।

इलाममा काँग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी रहेपनि संघीय समाजवादी फोरम, माओवादी केन्द्र र राप्रपासँग निर्णयक भोट छ । यी दलहरुको मतले प्रतिस्पर्धीहरुको भाग्य निर्धारण गर्ने आंकलन गरिएको छ ।

पहिले तीनवटा क्षेत्र रहेको इलाममा यसपटक दुईवटा क्षेत्रमा सिमित हुन पुगेकाले मुख्य प्रतिस्पर्धी दलहरुको चुनावी आंकलन विगतको जस्तो नहुने स्थानीयहरुको बुभाई छ ।

एमालेका ‘हेभी वेट’ प्रतिस्पर्धीहरु राज्यको महत्वपूर्ण पदमा पुगेर पनि जिल्लाको विकासमा उतिसारो काम गर्न नसकेको आरोप खेपिरहेका छन् भने काँग्रेसले पनि सोचे अनुरुप काम गर्न नसकेकोमा आलोचना भइरहेको छ ।

यस्तो छ विगत

इलाम क्षेत्र नम्बर १ का सांसद झलनाथ खनालले ४ पटक चुनाव जितिसकेका छन । खनाललाई ०५६ को निर्वाचनमा हाल प्रतिस्पर्धामा देखिएका काँग्रेसका बेनुपराज प्रसाईले पराजित गरेका थिए ।

खनालले २०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट कांग्रेस जिल्ला सभापति हिमालय कर्माचार्यलाई र २०६४ मा कांग्रेसकै बेनुपराज प्रसाईंलाई पराजित गरेका थिए ।

२०५१ र ०४८ सालका दुवै निर्वाचनमा खनालले कांग्रेसका तोयानाथ भट्टराईलाई इलाम क्षेत्र १ बाटै हराएका थिए ।

उता क्षेत्र २ बाट पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले लगातार ३ पटक चुनाव जितिसकेका छन् । ०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसका भेषराज आचार्यलाई पराजित गरेका नेम्बाङले ०६४ सालमा कांग्रेसका केशव थापा र ०५६ मा कांग्रेसकै कुलबहादुर गुरुङलाई पराजित गरेका थिए ।

स्थानीय तहको अवस्था

वि.स. २०५४ सालको स्थानीय निकाय निर्वाचनमा जिल्लाका ४८ गाउँ विकास समिति र १ नगरपालिकामध्ये एमालेले १ नगरपालिकासहित ४५ गाविसमा जितेको थियो ।

गत असार १४ सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाका १० स्थानीय तहमध्ये एमालेले ७ मा प्रमुख र ९ वटामा उपप्रमुख जितेको छ ।

कांग्रेसले ३ स्थानीय तहमा प्रमुख र एउटामा उपप्रमुखमै चित्त बुझाएको छ । जिल्लाका ८१ वडामध्ये ४४ वटामा एमालेको प्यानल, १६ वटामा कांग्रेसको प्यानल, एउटा–एउटामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमुक्ति पार्टीको प्यानल विजयी भएका छन् ।

बाँकी १९ वडामध्ये एमालेका ३, कांग्रेस १४ र माओवादीका १ वडाध्यक्ष विजयी भएका छन् ।