२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


सर्लाही तीन सातादेखि सिडिओविहीन, निर्बाचनलाई गम्भीर असर


0
Shares

प्रमुख नै नहुँदा कार्यालयमा आर्थिक कारोबार, मुद्दामामिला र ठूला किसिमका विवाद मिलाउने काम प्रभावित भएको कर्मचारीले बताएका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल असोज १६ गते नै सरुवा भएर अन्यत्र गए पनि गृह मन्त्रालयले उनको ठाउँमा अर्को प्रमुख जिल्ला अधिकारी पठाएको छैन ।

केन्द्रमा प्रभाव पार्ने नेताले चुनावको मुखमा आफूनिकटका प्रशासकलाई सर्लाही ल्याउन चाहेको कारणले नयाँ प्रमुख जिल्ला अधिकारी आउन ढिलाइ भएको स्रोतले जनाएको छ ।

हाल सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले सर्लाहीको निमित्त सिडिओको जिम्मेवारी सम्हालेका छन् ।

प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएको वेला सिडिओ नहुँदा जिल्लामा निर्वाचन तयारीको कामसमेत प्रभावित हुन पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चुनाव नजिकिँदै जाँदा नयाँ सुरक्षा योजना लागू गर्नुपर्ने वेला सिडिओ नै नहुँदा प्रहरीलाई पनि काम गर्न गाह्रो भएको छ ।

यस्तो वेला सुरक्षा निकायलाई कसरी परिचालन गर्ने भन्ने महत्वपूर्ण जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई नै हुन्छ । तर, प्रमुख नै नहुँदा सुरक्षा योजना तयार पार्ने कामसमेत हुन सकेको छैन ।

सिडिओ नहुँदा महत्वपूर्ण काम लिएर सदरमुकाम मलंगवा पुग्ने सेवाग्राही रित्तो हात घर फर्किन बाध्य छन् ।

दुई हप्तासम्म नयाँ सिडिओ नआउँदा सेवाग्राहीका महत्वपूर्ण काम रोकिन पुगेका छन् ।