Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


सांसदको शपथपछि रेशम चौधरीले के भने ? (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी र कबिर महर्जन (इमेज)

काठमाडौं, पुस १९ । टीकापुर हत्याकान्डका मुख्य योजनाकार मानिएका रेशम चौधरीले निर्वाचित भएको एक वर्षपछि सांसद पदको शपथ लिएका छन् ।

हत्या आरोपमा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका राजपा सांसद चौधरीलाई सभामुख कृष्णबहादुर महराले बिहीबार सिंहदरबारमा शपथ दिलाएका हुन् ।

शपथ लिएपनि उनी संसद सदस्यको हैसियतमा संसद बैठकमा भाग लिन भने पाउने छैनन् ।

राष्ट्रिय जनता पार्टी नेपालले पटक–पटक संसदमा सरकारलाई आफ्नो पार्टीबाट निर्वाचत सांसद रेशम चौधरीलाई सांसद पदको शपथ दिलाउन माग गर्दै आएको थियो ।

सरकारलाई समर्थन गर्दा गरिएको सहमति पूरा नभए समर्थन फिर्ता लिने भन्दै अघिल्लो साता प्रधानमन्त्रीलाई ‘अल्टिमेटम’ दिएपछि प्रधानमन्त्रीले एक साताको समय मागेका थिए ।

अन्ततः समय माग गरेको एक साताको समय बितेको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सभामुख कृष्णबहादुर महराले चौधरीलाई शपथ दिलाए ।

शपथ दिलाउने सरकारको निर्णयपछि निर्वाचन आयोगले संसद सचिवालयमा चौधरी निर्वाचित भएको पत्र पठाएको थियो ।

टीकापुर हत्याकान्डमा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका चौधरीलाई प्रहरीले कडा सुरक्षा घेरामा सिंहदरबार ल्याएको थियो । शपथलगत्तै उनलाई पुनः डिल्लीबजार कारागारमै लगिएको छ ।

सांसदको लोगो लगाएपछि पनि कारागार जानुपरेको भन्दै चौधरीले हामीसँगको कुराकानीमा दुखेसो पोखेका छन् ।

यता, राष्ट्रिय जनता पार्टीको अध्यक्षमन्डलका संयोजक राजेन्द्र महतोले पनि ‘सांसदको शपथ लिएपनि जेल जानुपर्ने कस्तो कानुन हो ?’ भनी कटाक्ष गरे ।

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।

प्रहरीले चौधरीलाई घटनाको मुख्य योजनाकार भएको बताउँदै ‘मोस्टवान्टेड’को सूचीमा राखेको थियो ।

यद्यपि, चौधरीले भने टीकापुर घटनामा आफ्नो संलग्नता नभएको भन्दै अरु निर्दोष व्यक्ति पनि कारागारमा रहेको भन्दै उनीहरुको रिहाइको पनि माग गरेका छन् ।

चौधरी गत मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए ।

चौधरीको रिहाइ नभएपनि सांसद पदको शपथ दिलाउन राजपा सफल भएको छ । संविधान संशोधनलगायताका राजपाका माग भने बाँकी नै छन् ।

भिडियो हेर्नुहोस्