Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


रेशम चौधरीले लिए सांसदको शपथ


0
Shares

काठमाडौं, पुस १९ । कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद रेशम चौधरीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा चौधरीलाई शपथग्रहण गराएका हुन् ।

चौधरीले थारु भाषामा शपथ लिए ।

उनलाई संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सांसदको लोगो लगाइदिएका थिए ।

चौधरीको शपथका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमन्डलका नेताहरु सिंहदरबार पुगेका थिए ।

राजपाले चौधरीलाई शपथग्रहण गराउन सरकारलाई दबाब दिँदै आएको थियो ।

चौधरीले सांसदको शपथ लिएपनि उनले संसदको बैठकमा भने भाग लिन पाउने छैनन् । उनी निलम्बित सांसदकारुपमा रहनेछन् ।

शपथका लागि चौधरीलाई डिल्लीबजार कारागारबाट सिंहदरबार लगिएको थियो । शपथलगत्तै उनलाई फेरि डिल्लीबजार कारागार लगिएको छ ।

चौधरी टीकापुर घटनाका मुख्य आरोपी हुन् । कैलालीको टीकापुरमा थारुवान आन्दोलनकाक्रममा २०७२ भदौ ७ गते एक बालक र एसएसपीसहित ९ जनाको हत्या भएको थियो ।

सो घटनाको ३० महिनापछि फागुन १४ गते उनी कैलाली जिल्ला अदालतमा आफैं उपस्थित भएका थिए ।

चौधरी गत वर्ष मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नम्बर–१ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

टीकापुर प्रकरणमा प्रतिवादी रहेकै अवस्थामा चौधरीले राजपाका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका थिए ।

निर्वाचनको बेला भारतमा भूमिगत रहेका चौधरी निर्वाचनमा विजयी भएपछि आफूविरुद्धको मुद्दाको प्रतिवाद गर्न कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए ।

कैलाली जिल्ला अदालत चौधरीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।