यसअघिपनि पटक–पटक सर्दै आएको पेसी पुनः मंसिर २५ गतेका लागि सरेको हो । हालसम्म उक्त मुद्दाको पेसी १५औंपटक सरेको छ ।
पछिल्लोपटक कात्तिक १२ गतेका लागि पेसी तोकिएको थियो । त्यसअघि, असोज १ गतेका लागि तोकिएको पेसी कात्तिक १२ गतेलाई सारिएको थियो ।
जिल्ला अदालत, चितवनमा भर्खरै आएका न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा परेको सो मुद्दा प्रतिवादी कानुन व्यवसायी गोपीलाल देवकोटाको निवेदनका कारण पुनः सारिएको अदालतका शाखा अधिकृत गम्भीर घिमिरेले बताए ।
देवकोटाले सो दिन बहस गर्न नसकिने भएकाले पेसीबाट हटाइ पाऊँ भनी निवेदन दिएका थिए । सो निवेदनको मागअनुसार पेसी सारिएको घिमिरेले बताए ।
झन्डै एक वर्षदेखि सो मुद्दाको पेसी विभिन्न कारणले सर्दै आएको छ ।
वि.सं. २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा जाहेरी दिएको र त्यसको एक वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।
जिल्ला अदालत चितवनले किटानी जाहेरी भएकामध्ये सातजनालाई धरौटीमा र चारजनालाई साधारण तारेखमा छाडेको थियो । दुईजना अदालतको सम्पर्कमा आएका थिएनन् । तीमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आएको थियो ।
सरकारी वकिलका तर्फबाट थुनछेक मुद्दालाई पुनरावेदन अदालतमा पेस भएकामा २०७१ साल असार महिनामा पुनरावेदन अदालत हेटौंडाले जिल्ला अदालत चितवनको आदेशलाई सदर गरेको थियो ।
त्यसपछि सर्वोच्च अदालतमा थुनछेक बहसपछि अभियुक्त १३ जनामध्ये छविलाल पौडेललाई थुनामै राखेर बाँकी कारबाही किनारा गर्नू भन्ने आदेश दिइएको थियो । पौडेल फरार छन् ।
किटानी जाहेरी परेकामा छविलालसहित जानुका पौडेल, रुद्र आचार्य, भीमसेन पौडेल, अजीव पौडेल, कालीप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी (क र ख), मेघनाथ पौडेल, सुभद्रा तिवारी र विष्णु तिवारी छन् । रासस










प्रतिक्रिया दिनुहोस्