Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्छ : उपराष्ट्रपति पुन


0
Shares

नेपाल पोल्ट्री महासंघले आयोजना गरेको नेपाल पोल्ट्री तथा लाइभस्टक अन्तर्राष्ट्रिय प्रदर्शनी, २०७४ को उद्घाटन गर्दै उनले भने, ‘नयाँ संविधानको कार्यान्वयनको निर्णायक तथा अन्तिम चरण प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन रहेकाले यसलाई महाउत्सवको रुपमा सम्पन्न गर्न सबैको सक्रिय सहयोग आवश्यक छ ।’

उपराष्ट्रपति पुनले राजनीतिक दलका नेता कार्यकर्ता तथा उम्मेदवारले आ–आफ्ना एजेण्डा लिएर मतदाताकहाँ पुगिरहेको उल्लेख गर्दै निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्ने बताए । ‘यसका लागि सरकार, राजनीतिक दल र सम्बन्धीत सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने, ‘विगतका निर्वाचन जस्तै आउँदो निर्वाचन पनि उत्सवका रुपमा सम्पन्न हुन्छ, यसले संविधान कार्यान्वयनले सुखद रुप लिन्छ ।’

निर्वाचनमा सहभागी भई सार्वभौम अधिकार प्रयोग गर्न उनले आम मतदातालाई आग्रहसमेत गरे ।

उपराष्ट्रपति पुनले चितवन पोल्ट्री क्षेत्रमा राम्रो प्रगति गरेको उल्लेख गर्दै झण्डै ६ दशक लामो इतिहास बोकेको पोल्ट्री क्षेत्र आज देशको आत्मनिर्भर क्षेत्रका रुपमा विकास भएको बताए ।

यो क्षेत्रलाई आत्मनिर्भर बनाउन निजी क्षेत्रको प्रमुख भूमिका रहेको बताउँदै उहाँले यसलाई उदाहरणका रुपमा लिएर अन्य क्षेत्रलाई पनि आत्मनिर्भर बनाउने योजना तर्जुमा गर्न सरकारलाई उनले सुझाव दिए ।

कार्यक्रममा पशुपक्षी विकास मन्त्रालयका सचिव प्रकाश माथेमाले पोल्ट्री क्षेत्रको व्यवसायीकरण र बजारीकरणका लागि सरकारले सक्दो सहयोग गरिरहेको बताउँदै विसं २०६८ मा पक्षी नीति निर्माण गरी नीतिगतरुपमा पोल्ट्री क्षेत्रको विकासका लागि टेवा पुर्‍याउने काम भइरहेको उल्लेख गरे ।

आत्मनिर्भर हुँदै गएको यो व्यवसायको विकासमा निजी क्षेत्रको योगदानको उच्च कदर गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले यो व्यवसायको विकास र विस्तारका लागि सरकारी सहयोगको खाँचो रहेको बताउँदै विश्वका विभिन्न देश पुगेर अवलोकन गर्नुपर्ने प्रदर्शनी स्वदेशमै हुनु आफैँमा महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, उपाध्यक्ष टीकाराम पोखरेललगायतले पोल्ट्री व्यवसायको विविध पक्षमाथि प्रकाश पारे ।

आजबाट शुरु भएको प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, ताइवान, इटली, इजराइल, बंगलादेशलगायत देशका १७० वटा कक्ष रहेको नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले जानकारी दिए ।

प्रदर्शनीका क्रममा स्वदेश र विदेशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने गरी कार्यशाला गरिँदैछ । प्रदर्शनीमा २५ देखि ३० हजार व्यवसायी एवंं सर्वसाधारण अवलोकनका लागि आउने अनुमान गरिएको छ । प्रदर्शनीका लागि करिब ५०० विदेशी चितवन आएका छन् । (रासस)