२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


सिरियामा आइएस कमजोर बन्दै, आइएसको कब्जामा रहेको शहर सेनाको नियन्त्रणमा


0
Shares

सिरियाली सरकारी सञ्चारमाध्यमहरुका अनुसार सेनाले आइएस लडाकुलाई उनीहरुको उल्लेख्य उपस्थिति रहेको पूर्वी नगर देर–अल–जोरबाट भगाएको छ ।

सिरियाको सीमापारि इराकको अल क्वेम् नगरमा पनि सरकार समर्थित फौजले आइएसविरुद्ध दबाब बढाएको छ ।

सिरियाली सरकारी टेलिभिजनका अनुसार देर–अल–जोरलाई सेनाले आइएसको कब्जाबाट मुक्त गरेको छ ।

इराकसँग सीमा जोडिएको रणनीतिक महत्वको देर–अल–जोरलाई सन् २०१४ मा आइएसले आफ्नो कब्जामा लिएको थियो ।

सीमापारि पर्ने इराकी नगरमा पनि आइएसविरुद्ध कारबाही तीव्र पारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पछिल्ला केही साता यता देर–अल–जोर प्रान्तबाट करिब ३ लाख ५० हजार गैरसैनिकहरु आफ्ना घर छोडी अन्यत्र जान बाध्य तुल्याइएको थियो ।

देर–अल–जोर आइएसको यसअघिको मुख्यालय मानिने रक्का नगर र इराकी सीमाको बीचमा अवस्थित छ । यो क्षेत्रबाट आइएसले हातहतियार लडाकु र सरसामान ओसार पार्ने गर्दथे ।

सरकारी सेनाले सिरियामा रहेका आइएसलाई पराजित गरे पनि त्यहाँ अब सरकारी फौज र अमेरिका समर्थित कुर्द समूहबीच द्वन्द्व बढ्ने अवस्था रहेको बताइएको छ ।

सिरियाको ठूलो भूभागमा कुर्द समूहको नियन्त्रण कायम छ ।(एजेन्सी)