Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


सफाइ महाअभियान: उपत्यकाबाट ५८ मेट्रिक टन फोहर व्यवस्थापन


0
Shares

वाग्मती सफाइ महाअभियानको २३४औं हप्तामा शनिबार शान्तिनगरस्थित भीएस निकेतन विद्यालयअघिको वाग्मती नदी किनारमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगंगा महिला समूहलगायत संस्थाका ६०० भन्दा बढीको सहभागिता रहेको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी एवं विज्ञापन संघका महासचिव नारायण श्रेष्ठले जानकारी दिए ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको १९४औं हप्तामा शनिबार हनुमानघाट र गोठाटार पुल वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाका गरी १०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

रुद्रमती सफाइको १९१औं हप्तामा शनिबार कालोपुल–सेतोपुलसम्म सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताए । सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

विष्णुमती सफाइको १६२औं हप्तामा तारकेश्वर नगरपालिका वडा नं १० मनमैँजुमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २५० जनाभन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी बिजेन्द्र लामाले जानकारी दिए ।

मनोहरा नदी सफाइको ३२औं हप्तामा शनिबार हनुमन्ते दोभानस्थित बिपी आँखा अस्पताल क्षेत्र वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

चक्रपथ सफाइको ३०औं हप्तामा गोंगबु चोकदेखि वसुन्धरासम्म सफाइ गरी २५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । ग्रिनहिल सिटी अस्पतालको संयोजनमा भएको सफाइमा ३५० भन्दा बढी अभियन्ताको सहभागिता थियो । सफाइमा तीन ओटै सुरक्षा निकायलगायत स्थानीय संस्थाको सहभागिता रहेको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए ।

उपत्यकाबाट बाहिर फोहर व्यवस्थापनका लागि पठाउन नसकिएकाले १५ मेट्रिक टन खाल्डोमा हालेर माथिबाट माटोले पुरिएको चक्रपथ सफाइ अभियानले जनाएको छ ।

यसैगरी, मीनभवन आलोकनगर सफाइको ३०औं हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी प्रमिला पौडेलले बताइन् ।

यसैगरी, चक्रपथको बाफल खन्ड सफाइको १२औं हप्तामा कलंकी–स्युचाटारसम्म सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा उद्योग राज्यमन्त्री रेशम लामा, पूर्व सचिव किशोर थापालगायत कलाकार श्रीकृष्ण सिम्खडालगायत ५०० जनाभन्दा बढी अभियन्ताको सहभागिता थियो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीय संघ संस्थाको पनि संस्थागत सहभागिता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।

त्यसैगरी, बनेपा शहर सफाइको आठौं हप्तामा शनिबार दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । ललितपुरको सुन्दरीघाट सफाइको २६औं हप्तामा आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ महाअभियानले जनाएको छ ।

विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान सुरु भएपछि देशभर सफाइ गर्ने जागरण आएको छ । रासस