दीपक घिमिरे (इमेज)
भैरहवा, पुस १७ । राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो भवनको निर्माणकार्य सुरु भएको छ ।
मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको महत्वपूर्ण अंगकारुपमा रहने कार्गो भवनको शिलान्यास गरी निर्माणकार्यको शुभारम्भ गरेका हुन् ।
९० करोड ३६ लाख रुपैयाँ बराबरमा दुई वर्षभित्र सम्पन्न गर्नेगरी शर्मा–लुम्बिनी–गजुरमुखी जेभीसँग सम्झौता भएको विमानस्थल आयोजनाले जनाएको छ ।
भवन ८ हजार स्क्वायर मिटर क्षेत्रफलमा निर्माण हुनेछ ।
निर्माण सुरु भएको कार्गो भवन अन्तर्राष्ट्रिय मापदन्डअन्तर्गत् स्तरीय र अत्याधुनिक किसिमले निर्माण हुने विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए ।
एप्रोनदेखि कार्गो भवनको बीचमा घाघरा खोला पर्ने हुँदा विमान आउन मिल्नेगरी पुल निर्माणसमेत गरिने जनाइएको छ ।
करिब ९ अर्ब रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी रहेकाले कागजपत्रहरु माथिल्लो निकायमा पुगेको जनाउँदै रकम निकासा भएलगत्तै मुआब्जा वितरण हुने अधिकारीले जानकारी दिए ।
शिलान्यास कार्यक्रममा मन्त्री अधिकारीले सम्झौताको म्याद अवधिभन्दा ४ महिनाअघि नै भवन निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाउन निर्देशन दिए ।
ठेकेदारले २० महिनाभित्र निर्माणकार्य सम्पन्न गरे सरकारले ठेकेदारलाई ‘बोनस’समेत उपलब्ध गराउने घोषणा मन्त्री अधिकारीले गरे ।
यस विमानस्थललाई ‘बेस’ बनाएर श्रीलंका, म्यानमार, चीन, कम्बोडियालगायतका देशहरुले विमान सन्चालन गर्नका लागि निवेदन दिइरहेकाले विमानस्थल तयारपश्चात् सन्चालनमा आउन कुनै समस्या नहुने उनले उल्लेख गरे ।
विमानस्थलमा वैकल्पिक कार्गो भवन रहेकाले नयाँ कार्गो भवन निर्माणको म्याद दुई वर्ष रहेपनि विमानस्थल सन्चालनमा यसले कुनै अवरोध नपुर्याउने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्