२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


भियतनाममा आँधीबाट २७ जनाको मृत्यु, २२ बेपत्ता


0
Shares

मध्य भियतनाम र मध्य पहाडी क्षेत्रमा भिषण आँधी आएको भियतनामको प्राकृतिक बिपद् नियन्त्रण तथा उद्धारसम्बन्धी केन्द्रीय परिचालन समितिले आइतबार आँधीका कारण २७ जनाको मृत्यु भएको र २२ जना हराइरहेको जानकारी दिएको छ ।

प्राप्त समाचारअनुसार १६ जनाको खान्ह होआ प्रान्तको मध्यभागमा, तीनजनाको बिन्ह दिन्ह प्रान्तमा, तीनजनाको मध्य पहाडी लाम डोङ प्रान्तमा, एक जनाको उच्च पहाडी डाक लाकको मध्य भागमा मृत्यु भएको जनाइएको छ ।

अन्य चार जनाको भने जन्मस्थान नखुलेको अधिकारीहरुले जनाएको समाचारमा उल्लेख गरिएको छ । त्यसैगरी, हराएका २२ जनामध्ये चारजना बिन्ह दिन्ह, एक जना फु येन प्रदेशको मध्यभागका हुन् ।

अरु १७ जनाको ठेगाना भने स्पष्ट हुन नसकेको केन्द्रीय दैवी प्रकोप समितिले जनाएको छ ।

कडा हावा हुरीका कारण हराएका उनीहरु खतरामा छन् वा मरिसके भन्ने बारेमा अहिलेसम्म यकिन हुन सकेको छैन ।

आइतबार बिहान समूहमा रहेका चार जनाको मृत्यु भएको र अरु १७ जना अझै पनि बेपत्ता नै रहेको बताइएको छ ।

आँधीले ६२६ ओटा घर नष्ट गरेको र अरु ३९ हजार ७०० घरमा क्षती पुर्‍याएको छ । त्यसैगरी ३० हजार हेक्टर क्षेत्रफलमा रहेको बालीनाली र माछामार्ने २२८ ओटा डुंगा पनि नष्ट भएको छ ।

आँधीसँगै आएको बाढी र पहिरोले बिन्ह दिन्ह, फु येन, खान्ह होआ र क्वाङ नाममा गाडी गुड्ने बाटो र रेल यातायातमा क्षति पुर्‍याएको पनि अधिकारीहरुले जनाएका छन् । (रासस/सिन्ह्वा)