कृषि मन्त्रालय, वन तथा भूसंरक्षण मन्त्रालय र वातावरण मन्त्रालयले राजधानीमा संयुक्त रुपमा गरेको कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका कृषकले कृषि वन नीतिबाट ग्रामीण किसानको जिवनस्तरमा सुधार आउने दावी गरे ।
कार्यक्रममा सरकारले ल्याउन लागेको कृषि वन नीतिको प्रारम्भिक मस्यौदावारे कृषि विशेषज्ञहरुले आ–आफ्नो राय व्यक्त गरेका थिए । उनीहरुले यो नीति पारित भएमा भारतपछि नेपाल कृषि वन नीति ल्याउनेमा दोश्रो राष्ट्र हुने बताए ।
यसबाहेक अरु ५०भन्दा बढी राष्ट्रले समेत कृषि नीति ल्याउने तयारी गरिरहेको बताइएको छ । कृषि विशेषज्ञ प्राध्यापक मुरारीराज जोशीले कृषि वन प्रविधि अपनाएर सानाकिसानको जिविकोपार्जन सुधार्नु आजको आवश्यकता रहेको बताए ।
उनले जलवायु परिवर्तनलाई नियन्त्रण एवं वन जोगाउनका लागि कृषि वन अत्यन्तै लाभदायी हुने बताए । किसानलाई आवश्यक प्राविधिक ज्ञान र कृषि वनबाट हुने लाभका विषयमा ज्ञान दिनुपर्नेमा विज्ञहरुको जोड छ ।
कृषि वन एउटा खेती गर्ने प्रविधि हो जसले एउटै जमिनबाट रुख र कृषि बालीहरु एकैपटक उत्पादन गर्दछ ।










प्रतिक्रिया दिनुहोस्