प्रज्ञा तिमल्सिना र राजेन्द्र नापित (इमेज)
काठमाडौं, पुस १७ । नेपाल स्काउटले काठमाडौं, ललितपुर र भक्तपुरका १६ ओटा विद्यालयका विद्यार्थीहरुलाई मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गराएको छ ।
करिब डेढ घन्टाको अवधिमा विद्यार्थीहरुले प्रधानमन्त्रीसँग विद्यालय क्षेत्रको सुधारदेखि निर्मला पन्तको हत्यासम्मका विषयमा जिज्ञासा राखेका थिए ।
बौद्धस्थित जेभियर स्कुलका दर्शन दाहाल र अश्लेषा लुइँटेलले ‘प्रधानमन्त्रीको बाल्यकाल कहाँ ? कसरी बित्यो ?’ भन्दै सुरु भएको प्रश्नोत्तर कार्यक्रममा विद्यार्थीहरुले १० ओटा प्रश्न गरेका थिए ।
‘तपाइँ कस्तो विद्यार्थी हुनुहुन्थ्यो ?’ ‘आदर्श व्यक्ति कसलाई मान्नुहुन्छ ?’ ‘खुसी भनेको के हो ?’ लगायतका प्रश्न सोधेका विद्यार्थीहरु देशको वर्तमान अवस्थाप्रति पनि उत्तिकै जानकार भएर प्रश्न गरेका थिए ।
पहिलोपटक प्रधानमन्त्रीलाई प्रत्यक्ष देख्न पाएका धेरै बालबालिकाहरु निकै उत्साहित देखिन्थे ।
आफू पनि केटाकेटीमा केटाकेटीजस्तै रहेको भन्दै ठट्यौलो जवाफ दिएर जवाफ दिन सुरु गरेका प्रधानमन्त्रीले आफनो जम्मस्थानबारेसमेत जानकारी गराए ।
नयाँपिंढीको मुहारमा मुस्कान नै आफ्नो खुसी हो भन्दै प्रधानमन्त्री ओलीले मानव समाजलाई अगाडि बढाउन योगदान पुर्याउने व्यक्ति नै आफ्नो आदर्श व्यक्ति भएको बताए ।
जुद्धोदय माध्यामिक विद्यालयका अनिस कोइरालले ‘सामुदायिक विद्यालयको अवस्था खस्कँदै गएको छ नि प्रधानमन्त्री ज्यू, निजी विद्यालयले धमाधम अंग्रेजी माध्यमबाट पठनपाठन गराउँदा नेपाली भाषा त खतरामा पर्यो नि !’ भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
जसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयका शिक्षकको गुणस्तर सुधार गर्न केही गर्न नसकेको स्वीकार गरे ।
सरकारले सामुदायिक विद्यालय सुधार गर्न काम अघि बढाउने भन्दै उनले ‘नेपाली भाषालाई माया गरी जगेर्ना गर्नुपर्ने तर अन्तर्राष्ट्रिय भाषा पनि सिक्नुपर्छ’–भने ।
जेभियर स्कुलका प्रविश घिमिरेले ‘वर्षेनि रोजगारीको खोजीमा विदेश जाने युवालाई रोक्न के गर्नुहुन्छ ?’ भन्ने प्रश्न गरेकोमा प्रधानमन्त्री ओलीले सस्तोमा नेपाली श्रम बेचिनबाट रोक्न सरकारले काम गर्ने बताए ।
आइडीएल स्कुलकी रश्मी थापाले ‘कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई किन सरकारले पक्रन नसकेको हो ?’ भन्दै प्रश्न गरेकी थिइन् ।
जसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले हत्यारालाई छिट्टै कानुनी दायरामा ल्याउन सरकार सफल हुन्छ भन्नेमा आफू विश्वस्त रहेको बताए ।
‘समयमा पाठ्यपुस्तक प्राप्त गरी सहजरुपमा पढ्न पाउने अधिकार कहिले सुनिश्चित हुन्छ ?’ ‘कामअनुसारको पारिश्रमिक पाउने वातावरण कहिले बन्छ ?’ भन्ने प्रश्नहरु पनि विद्यार्थीले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्