
काठमाडौं, असार १६ । निषेधित क्षेत्र घोषणा फिर्ताको माग गर्दै नागरिक समाज र विवेकशील साझा पार्टीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
शनिबार काठमाडौंको माइतीघर मन्डलामा भेला भएका नागरिक समाज र विवेकशील साझा पार्टीका समर्थकहरुलाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा विवेकशील साझा पार्टीका संयोजक उज्ज्वल थापालगायत छन् ।
माइतीघर मन्डलालगायतका क्षेत्रमा प्रदर्शन तथा धर्ना गर्न नपाउने सरकारको निर्णयपछि यसको आलोचना भएको थियो ।
यहीक्रममा शनिबार सरकारी निर्णयको विरोधमा प्रदर्शन गर्न माइतीघर मन्डला गएकाहरु पक्राउ परेका हुन् । उनीहरुले नागरिकको हक खोस्न नपाइने माग गरेका थिए ।
काठमाडौंको शान्तिबाटिका र माइतीघर मन्डलामा आगामी साउन १ गतेदेखि सरकारले भेला हुन र विरोध प्रदर्शन गर्नसमेत रोक लगाएको छ ।
सरकारी निर्णय आगामी साउन १ गतेदेखि लागू हुने भएपनि त्यसअघि नै प्रदर्शनमा गएकाहरुलाई सरकारले गिरफ्तार गरेको हो ।
हामीसँग कुरा गर्दै विवेकशील साँझा पार्टीका अर्का संयोजक रवीन्द्र मिश्रले लोकतन्त्रमा सर्वसाधारणको अभिव्यक्तिमाथि कुठाराघात गर्ने काम सरकारले गरेको आरोप लगाए ।
गृह मन्त्रालयले काठमाडौंका खुल्लामन्च, तीनकुनेस्थित खाली चौर, स्वयम्भूको भगवानपाउस्थित खुला जमिन, पेप्सिकोला खेलमैदान, सानोगौचरण, लैनचौरस्थित खाली जमिन र सिफल चौरमामात्र विरोध प्रदर्शन गर्न पाउने जनाएको छ ।
यसैगरी, ललितपुरको च्यासल खेलमैदान, गोदावरी बसपार्कसँगै रहेको खुला जमिन, भैंसेपाटीको छ्यासिकोट, बज्रबाराही मन्दिरनजिकैको खाली जमिन र धोबीघाटनजिकै रहेको खुला जमिनमामात्र अब प्रदर्शन गर्न पाइनेछ ।
प्रतिक्रिया दिनुहोस्