१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


एकैपटक ९ हजार ५०५ विद्यार्थीहरु दीक्षित, ‘गाउन’सँगै ‘ह्याट’को व्यवस्था (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना र नवीन स्थापित (इमेज)

काठमाडौं, पुस १६ । त्रिभुवन विश्वविद्यालयबाट एकैपटक ९ हजार ५०५ जना विद्यार्थीहरु दीक्षित भएका छन् ।

सोमबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको ४४औं त्रिवि दीक्षान्त समारोहमा विभिन्न संकायमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि गरेकाहरुलाई दीक्षित गरिएको हो ।

उसो त त्रिभुवन विश्वविद्यालयबाट ७४ हजार २८४ जना विद्यार्थी दीक्षित हुन योग्य भएका थिए । तर, प्रमाणपत्र लिन भने ९ हजार ५०५ जनामात्रै आए ।

यसबाट त्रिविले दिने प्रमाणपत्रप्रतिको मोह घट्दै गएको त होइन ? भन्ने आशंका जन्मिएको छ ।

वर्षेनि दीक्षिन्त हुन लायक ठूलो संख्या हुन्छ । तर, लिनेहरुको संख्या ज्यादै न्यून ।

‘दीक्षित भएपछि के गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा धेरै युवाको जवाफ हुन्छ–‘देशमा काम गर्ने वातावरण छैन । विदेश जान्छु ।’

तर, हामीले भेटेका केही युवाहरुले भने नेपालमा नै बस्ने र देशका लागि केही गर्ने भावना राखेको पायौं ।

स्नातकोत्तर तहमा प्रथम भएकी र यसअघि नै निजामती सेवामा प्रवेश गरिसकेकी सुलोचना श्रेष्ठ भने नेपालमै अवसर खोजेर काम गर्न सुझाव दिन्छिन् ।

यस्तै, गत वर्ष बीएससी नर्सिङतर्फ उत्कृष्ट भएकी स्वेच्छा जोशी स्नातकोत्तर तहसम्म पढेको व्यक्तिले पनि तल्लो तहको काम गर्नुपर्ने अवस्थाका कारण युवाहरु बाहिर जाने गरेको बताउँछिन् ।

दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने समृद्ध नेपाल बनाउन अबका युवाहरुको भूमिका रहने बताए ।

दीक्षित विद्यार्थीहरुलाई प्रधानमन्त्री ओलीले विद्यार्थीहरुले पाएको शैक्षिक प्रमाणपत्र यसै राख्न चाहेमा त्यसलेसमेत काम नदिने भन्दै इमानदारीपूर्वक शिक्षालाई व्यवहारमा उतार्न सुझाव दिए ।

यस्तै, समारोहमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अबको संघीय शिक्षालाई उच्चस्तरीय राष्ट्रिय आयोगमार्फत् व्यवस्थापन गर्न लागेको जानकारी दिए ।

त्रिविले ४० ओटा काउन्टरबाट दीक्षित भएका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको थियो ।

अन्तराष्ट्रियस्तरकै शिक्षा दिने भन्दै यस वर्षदेखि त्रिविले ‘गाउन’सँगै ‘ह्याट’कोसमेत व्यवस्था गरेको थियो ।

गत वर्षसम्म त्रिविले दीक्षान्त समारोहमा गाउनमात्र उपलब्ध गराउने गर्दथ्यो ।

भिडियो हेर्नुहोस्