Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


‘अमलेखगन्ज–रक्सौल पाइपलाइन तीन वर्षमा सकिने’


0
Shares

परियोजनाको निरीक्षणका लागि बिहीबार काठमाडौं आइपुगेको तीन सदस्यीय भारतीय टोली शुक्रबार नेपाली अधिकारीका साथ स्थलगत निरीक्षणमा गएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले राससलाई जानकारी दिए ।

संयुक्त टोलीले निरीक्षणकाक्रममा खासगरी पाइपलाइनस्थल र पाइपलाइन विस्तार कसरी अघि बढाउने सम्बन्धमा निरीक्षण गरेको उनले बताए ।

अमलेखगन्जदेखि रक्सौलसम्मको निरीक्षणक्रममा संयुक्त टोलीले त्यस क्षेत्रमा भइरहेको सडक विस्तार पाइपलाइन बिछ्याउन सहज हुने भएपनि कतिपय स्थानमा घरटहरा र विद्युत् खम्बा तथा ट्रान्सफर्मर हटाउनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रवक्ता गोइतले भने–‘पाइपलाइन जाने बाटो सबै निश्चित भइसकेको छ, मुख्य कुरा सडकको किनार भएर पाइपलाइन जाने भएकाले जमिनको खासै समस्या छैन, अन्य समस्याकाबारेमा स्थानीय प्रशासनसँग छलफल गरी शीघ्र काम अघि बढाउनेछौं ।’

तीनदिने भ्रमणका लागि नेपाल आएको भारतीय टोलीले आएकै दिन नेपाल आयल निगमका उच्च अधिकारीसँग काठमाडौंमा सो परियोजनाका विविध पक्षकाबारेमा छलफल गरिसकेको छ ।

अमलेखगन्जदेखि रक्सौलसम्मको ३८ किमि लम्बाई पाइपलाइन बिछ्याउन बोलपत्र हुनाका साथै आगामी डिसेम्बरसम्म सम्पूर्ण आवश्यक सामग्री आइसक्ने बताइएको छ ।

निर्माण सुरु भएको मितिले ३६ महिनामा काम सम्पन्न गर्ने समयावधि तोकिएको परियोजनाको लागत रु चार अर्ब २० करोड रहेको प्रवक्ता गोइतले जानकारी दिए । सो परियोजना भारतको मोतीहारीसम्म विस्तार गर्ने भारत पक्षको तयारी छ ।

यसको कुल लम्बाई ७२ किमि छ । भारतले हालको रक्सौल डिपोलाई मोतीहारीमा विस्थापन गर्ने काम अघि बढाइसकेको छ ।

आपूर्तिसचिव कृष्णप्रसाद देवकोटाको नेतृत्वमा रहेको नेपाली टोलीमा आयल निगमका प्रबन्ध निर्देशक सुशील भट्टराई र निर्देशक गोइत तथा भारतीय आयल निगम (पाइपलाइन) निर्देशक अनिश अग्रवालको नेतृत्वको भारतीय टोलीमा सोही विभागका प्रमोद नारङ र भारतीय आयल निगमका महाप्रबन्धक एसएस बोस सहभागी छन् । रासस