
सर्लाही । सर्लाहीको सागरनाथ वन विकास परियोजनाले आफ्नो मूर्तिया वन व्यवस्थापन क्षेत्रअन्तर्गत धरहरामा अतिक्रमण गरी बनाइएका ५० घर टहरा भत्काएको छ ।
नयाँरोड–बरहथवा सडकखण्ड भन्दा पश्चिम धरहरास्थित परियोजनाको जमिनमा सर्वसाधारणले अतिक्रमण गरी निर्माण गरेका घरटहरा भत्काइएको हो ।
मान्छे नबस्ने तर जमिन ओगट्नका लागि निर्माण गरिएका घर टहरा भत्काइएको परियोजना प्रमुख देवेशमणि त्रिपाठीले जानकारी दिनुभयो ।
अब अतिक्रमण गरी बनाईएका सबै घर टहरा क्रमशःभत्काउने अभियान चलाउने प्रमुख त्रिपाठीको भनाइ छ ।
अतिक्रमण गरी घर टहरा निर्माण गर्नेहरुले केहीवर्ष अघि कार्यालयले वृक्षारोपण गरेको सयौं मसलाका विरुवासमेत उखेलेर र काटेर नष्ट पारेका छन् ।
मसला, टिक, साल, सिमललगायत रुखहरुको घना जंगल रहेको परियोजनाको २ हजार हेक्टर भन्दा बढी क्षेत्रफल अतिक्रमण गरी २२ सय भन्दा बढी घर टहराहरु बनाएर सर्वसाधारणले खेती सूरु गरेको परियोजनाले जनाएको छ ।
कार्यालयले पटकपटक वन क्षेत्रभित्र घर टहरा नबनाउन र बनाइएका घर टहरा हटाउन सूचित गरेको भए पनि अटेर गरेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासनलगायतको सहयोगमा घरटहरा हटाइएको परियोजनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्