Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


उम्मेदवार लक्षित हमला लगातार भइरहेपछि निर्वाचन शान्तिपूर्ण हुनेमा आशंका (भिडियो)


0
Shares

चुनावी प्रचारप्रसारमा गएका उम्मेदवारमाथि श्रृखंलाबद्ध रुपमा आक्रमण हुन थालेपछि चिन्तित निर्वाचन आयोगले निर्वाचनको लागि गठित उच्चस्तरीय सुरक्षा समितिको बैठक नै डाकेर छलफल गरेको छ ।

गत शुक्रबार रुकुममा माओवादी केन्द्रका नेता एवं वाम गठबन्धनका उम्मेदवार जनार्दन शर्मामाथि आक्रमण भयो । उक्त घटनाको २४ घण्टा नबित्दै रोल्पामा सोही गठबन्धनकै अर्का उम्मेदवार वर्षमान पुनमाथि आक्रमण भयो । यस्तै, आईतबार पनि चुनावी प्रचारमा रहेका उम्मेदवार पुनमाथि आक्रमणको प्रयास गरियो ।

उम्मेदवारमाथि श्रृखंलाबद्ध आक्रमण हुन थालेपछि आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा आशंका बढ्दै गएको हो । स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भईसकेकाले आगामी निर्वाचन पनि शान्तिपूर्ण हुनेमा आममतदाताको विश्वास थियो तर चुनाव विरोधी गतिविधि बढ्न थाले पनि शान्तिपूर्ण निर्वाचनप्रति आशंका बढ्दै गएको छ ।

निर्वाचनलाई प्रभावित पार्ने किसिमका गतिविधि बढ्न थालेपछि निर्वाचन आयोगले नियन्त्रणका लागि सरकारसँग आग्रहमात्रै गरेन, निर्वाचनका लागि गठित उच्चस्तरीय सुरक्षा समितिको बैठक नै बोलायो । बैठकमा सुरक्षा संवेदनशिलताबारे छलफल हुनुका साथै निर्वाचन विरोधी गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय थप नयाँ कार्ययोजनाका साथ अगाडी बढ्ने निर्णय भएको छ ।

हुन त सरकारले यसअघि नै निर्वाचन केन्द्रित सुरक्षा योजना सार्वजनिक गरिसकेको छ । सुरक्षा योजनालाई थप प्रभावकारी रुपले कार्यान्वयन गर्न सुरक्षा निकायबीच छलफल पनि भईरहेको छ । उच्चस्तरीय सुरक्षा समितिको बैठकपछि प्रमुख निर्वाचन आयुक्त डा. यादवले आगामी दिनमा चुनाव विरोधि गतिविधि नहुनेमा आयोग विश्वस्त रहेको प्रतिक्रिया दिए ।

हुन त तीन चरणमा भएको स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । स्थानीय तह निर्वाचनमा सफल देखिएको सुरक्षा योजनालाई यसपटक पनि सरकारले निरन्तरता दिएको छ । तर, निर्वाचन नजिकिँदै जाँदा श्रृंखलाबद्ध रुपले भईरहेका निर्वाचनविरुद्धका गतिविधिले सुरक्षा चुनौती थपेको मात्र छैन, आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा आशंका समेत बढ्दै गएको छ ।

यसमा बेलैमा सबैको सतर्कता र होशियारी जरुरी पर्नेछ ।

भिडियो हेर्नुहोस्