Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


क्षमताभन्दा बढी सामान बोक्ने भारतीय ट्रकलाई कडाइ


0
Shares

कृष्णनगर नाकाबाट मात्र दैनिक करिब ४०० भन्दा बढी भारतीय सवारी साधन नेपाल भित्रने गरेका छन् । जरिमाना काट्दै ‘ओभरलोड’ छाड्दै आएको कपिलवस्तु ट्राफिक प्रहरीले शुक्रबारबाट क्षमताभन्दा बढी सामान बोक्ने ट्रकको सामान खन्याई अर्को ट्रकमा लैजाने व्यवस्था गराउन थालेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक अमरबहादुर कार्कीले जानकारी दिए ।

ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे अगाडि नै त्यस्ता मालबहक साधनका बढी भार खन्याइएको छ भने ठूला उपकरण र करिडोरका औद्योगिक कच्चा पदार्थ लिएर आउने ट्रकलाई भने छाडिएको छ ।

कृष्णनगर नाका हुँदै नेपाल भित्रने मार्बल, क्लिंकर, फलामलगायतका सामान बोकेर आउने भारतीय ट्रकले अत्यधिक भार लिएर आउने गरेका छन् ।

भारतबाट बढी भार लिएर नेपाल भित्रने त्यस्ता ट्रकलाई कारबाही हुन थालेपछि नेपाली ट्रक व्यवसायी खुसी भएका छन् । ती ट्रकलले बढी भार बोकिरहँदा नेपाली ट्रकले मालसामान नपाएर खडा हुनुपर्ने अवस्था रहेकामा अब त्यस्तो समस्या नहुने बाणगंगा यातायात व्यवसायी समितिका महासचिव लक्ष्मण भुसालले बताए । रासस