१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


निर्मला हत्या प्रकरणमा संलग्न कुनै हालतमा उम्किन सक्दैन : महानिरीक्षक खनाल


13
Shares

दुर्गा उपाध्याय

कञ्चनपुर, पुस १५ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्याकाण्डको अनुसन्धानका सबै पाटोहरु खुला रहेकाले घटनामा संलग्न कुनै पनि हालतमा उम्किन नसक्ने बताएका छन् ।

आज महेन्द्रनगरमा नागरिक समाज र सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्मला हत्याकाण्डको अनुसन्धानका क्रममा लापरवाही गर्ने प्रहरीलाई कारवाहीका लागि अपराध अनुसन्धान विभागमा पत्राचार गरेको बताए ।

प्रहरी महानिरीक्षक खनालले उच्चस्तरीय छानविन समिति र प्रहरीको आन्तरिक छानविन समितिको प्रतिवेदनमा दोषी पाइएका प्रहरीमाथि कारवाही गर्ने प्रतिबद्धता जनाए ।

उनले अनुसन्धानमा लापरवाही गर्ने माथिल्लो तहका प्रहरीलाई विभागले र अरु प्रहरीमाथि स्थानीय प्रहरी कार्यालयले नै कारवाही गर्ने गरी पत्राचार गरिसकेको जानकारी दिए ।

कार्यक्रममा सहभागीहरुले भने अनुसन्धानका क्रममा रहेका विषयलाई सार्वजनिक गरेर प्रहरीले जनविश्वास गुमाएको बताएका थिए ।