Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


शेरधन राईलाई बचाउन सुरक्षागार्डद्वारा २१ राउण्ड गोली प्रहार


0
Shares

राईका निजी सचिव तिलकराम राईका अनुसार आक्रमणकारी १० जना जतिको समूहमा रहेको र गाडीमा बम प्रहार गरेपछि सुरक्षा गार्डले २१ राउण्ड गोली प्रहार गरेका हुन् ।

अज्ञात समूहले प्रहार गरेको बमबाट राईको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक डिल्लीबहादुर देवकोटाको दाहिने हातमा चोट लागेको छ ।

बम प्रहारबाट गाडीको अगाडिको भागमा क्षति भएको रार्ईका स्वकीय सचिव राईले जानकारी दिए । पूर्वमन्त्री राई भने सकुशल छन् । अहिले उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

पूर्व सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका राई भोजपुरको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’ का उम्मेदवार हुन् ।

बिहान १० बजे भोजपुर सदरमुकामदेखि टेम्के मैयुँ गाउँपालिकाको कोटतर्फ चुनावी सभामा जाँदै गर्दा उनी चढेको गाडीमा बम प्रहार गरिएको हो ।

टेम्के मैयु गाउँपालिका–६ गुम्बामा पुगेका बेला राई चढेको गाडीमा बम प्रहार गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच, राईलाई लक्षित गरी वम बिस्फोट गराइएको घटनाप्रति एमाले अध्यक्ष केपी ओलीले खेद व्यक्त गरेका छन् ।

आज विज्ञप्ति निकाली निर्वाचन प्रचारका क्रममा रहेका उम्मेदवार माथिको यो आक्रमणलाई सिंगो एमाले पंक्तिमाथिको आक्रमणका रुपमा लिएको उनले उल्लेख गरेका छन् ।

घटनामा संलग्न जोसुकै भएपनि उनीहरूको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँड्ने र मुलुकमा भाँडभैलो मच्चाइरहने स्पस्ट भएकाले कसैलाई नछाड्ने चेतावनी उनले दिए ।

उनले पूर्वदेखि पश्चिमसम्म वाम गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्काे आक्रमणको घटना हुँदासमेत सरकार उदासीन बनेको भन्दै दोषीमाथि कडा कारबाहीको गर्न माग पनि गरेका छन् ।