
सेनाले गरेको रक्तपातविहीन सत्ता परिवर्तनलगत्तै राष्ट्रपति मुगाबेलाई नियन्त्रणमा लिइएको जिम्बाब्वेको सत्तारुढ दलले ट्वीटमार्फत् दाबी गरेको छ ।
मुगाबे ‘सुरक्षित तर सेनाको हिरासतमा’ रहेको दाबी गरिएको छ ।
९३ वर्षीय राष्ट्रपति रोबर्ट मुगाबेले उत्तराधिकारीको विवादमा उपराष्ट्रपतिलाई बर्खास्त गरेपछि जिम्बाब्वेमा राजनीतिक कलह चुलिएको हो ।
टीभीमा एक जनरलले सम्बोधन गर्दै सैन्य ‘कू’ नभएको एवं मुगाबे र उनको परिवार सुरक्षित रहेको बताएका छन् ।
सेनाले राष्ट्रपतिको वरिपरि रहेर अपराध गर्नेहरुमात्र आफ्नो निशानामा रहेको जनाएको छ ।
सन् १९८० देखि जिम्बाब्वेको शासन सत्ता मुगाबेको हातमा थियो । अहिले भने उनको उत्तराधिकारी को हुने भन्ने विवाद भएपछि सेना अगाडि आएको हो ।
मुगाबेलाई उनकी पत्नी ग्रेसले आफूलाई उत्तराधिकारी घोषणा गर्न दबाब दिएपछि यो अवस्था आएको बताइएको छ ।
पत्नीलाई उत्तराधिकारी बनाउनकै लागि उपराष्ट्रपति इमरसन मानगावालाई बर्खास्त गरिएको र त्यहीँबाट संकट चुलिएको हो ।
यसअघि, सेनाले जिम्बाब्वे नेसनल ब्रोडकास्टर (जेडबीसी)को केन्द्रीय कार्यालय नियन्त्रणमा लिएको थियो ।
जेडबीसी जिम्बाब्बेको राष्ट्रिय प्रसारण हो । यसअन्तर्गत् टेलिभिजन, अनलाइन, एफएमलगायत सरकारी सन्चारमाध्यम छन् ।
राष्ट्रिय टेलिभिजन नियन्त्रणमा लिनुलाई सेनाले ‘कू’ गर्ने पूर्वसंकेतकोरुपमा हेरिएको थियो ।
राजधानी हरारेमा सेनाका बख्तरबन्द गाडी तैनाथ गरिएको छ भने केही स्थानमा बम पड्किएको आवाज सुनिएको दाबी गरिएको छ ।
सेनाले जेडबीसीको केन्द्रीय कार्यालय नियन्त्रणमा लिएको विषयमा राष्ट्रपति मुगाबेको प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन ।
तर, दक्षिण अफ्रिकाका लागि जिम्बाब्वेका राजदूत इसाक मोयोले भने सैनिक ‘कू’को सम्भावनालाई अस्वीकार गरे ।
यसअघि, जिम्बाब्वेको सेना प्रमुखबाट देशको राजनीतिक संकट समाधानका लागि हस्तक्षेप गर्नुपर्ने अभिव्यक्ति सार्वजनिक भएको थियो ।
सत्तारुढ दल जानु पीएफले तत्काल विज्ञप्ति निकाली सेनाप्रमुख कन्सट्यान्टिनो चिवेङ्गाको अभिव्यक्ति देशद्रोहको भावनाले प्रेरित भएको टिप्पणी गरेको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्