काठमाडौं, पुस १४ । काठमाडौंको खानेपानी अभाव पूरा गर्न वि.सं. २०५२ सालबाट औपचारिकरुपमा मेलम्ची खानेपानी आयोजनाको काम थालिएपनि दशकौं बितिसक्दा पनि आयोजना अझै पूरा हुन सकेको छैन ।
आयोजना कहिले सम्पन्न हुन्छ ? सायद, सरकारलाई नै थाहा छैन ।
गएको दसैंमा मेलम्चीको पानी काठमाडौं ल्याउने आश्वासन दिइएपनि खानेपानी मन्त्रालय भने अब पानी आउने मिति तोक्न नसक्ने अवस्थामा पुगेको छ । कारण देखाइएको छ, इटालीयन कम्पनी सीएमसीले काम छाड्नु ।
२०७० सालमा आयोजना निर्माणको ठेक्का पाएको सीएमसीले २०७३ सालमै यो आयोजना सक्नुपर्ने थियो । तर, भूकम्प, नाकाबन्दीलगायतका बहाना बनाउँदै समय थप्दै लगियो ।
चुनावी नारा बन्नबाट मेलम्चीलाई पछि नपारिएपनि पटक–पटक फेरिएको तिथिमा पानी ल्याउन भने कुनै सरकार सफल देखिएन ।
ठेकेदार कम्पनीको कुरा पत्याउँदै मिति तोक्दै आएपनि पछिल्लो समय आयोजनाको काम नै रोकिएपछि पनि पानी भने आउने सरकारी भनाइ छ ।
सीएमसीसँगको ठेक्का तोडे नेपाललाई बढी नोक्सानी हुने भन्दै खानेपानीमन्त्री बीना मगरले सरकार सोही कम्पनीबाटै काम सम्पन्न गराउने प्रयासमा रहेको बताउँछिन् ।
उच्च अदालत पाटनले सीएमसीको अढाइ अर्ब रुपैयाँ धरौटी रोक्काको प्रक्रियालाई कानुनसम्मत् ठहर्याएको छ ।
बिहीबारको यो आदेशसँगै मेलम्चीको थप काम अगाडि बढाउन सजिलो भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
सीएमसीका प्रतिनिधि बीचमै काम छाडेर भाग्न खोजेपछि विकास समिति र खानेपानी मन्त्रालयले धरौटी रोक्काको प्रक्रिया थालेको थियो ।
सीएमसीले भूकम्प र नाकाबन्दीका कारण काम रोकिँदा एक अर्बभन्दा बढी क्षति भएको भन्दै सो रकम माग गरेको थियो । क्षतिवापतको रकममध्ये ३५ करोड दिने सहमति पनि भएको थियो ।
अहिले आयोजनाको हेडवर्क्सको काम पूरै बाँकी छ भने अरु काम पनि बाँकी रहेको छ । बाँकी काम करिब ३० करोडमा सकिने दाबी गरिएको छ ।
मेलम्चीको बाँकी काम गर्ने प्रतिबद्धतासहित क्रिसमस मनाउन सीएमसीका कर्मचारी गएको शनिबार इटाली फर्किएका छन् ।
फर्किएर आयोजनाको बाँकी काम थाल्ने प्रतिबद्धता जनाएको भएपनि उनीहरू कहिले फर्कने टुंगो भने छैन । र, यही पृष्ठभूमिमा आयोजना कहिले सम्पन्न हुन्छ ? त्यसको पनि कुनै टुंगो छैन ।









प्रतिक्रिया दिनुहोस्