
उम्मेदवारमाथि ठाउँठाउँमा आक्रमण हुँदा मुख्य दलहरु भने आरोप–प्रत्यारोपमा उत्रिएका छन् भने सुरक्षा निकायले यसलाई अझै सामान्यरुपमा लिएको छ ।
मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले चारओटै सुरक्षा निकायलाई परिचालन गरेको छ । तर, उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमणका घटना भइरहेका छन् ।
गृह मन्त्रालयकाअनुसार उम्मेदवारलक्षित विस्फोटका घटनाको संख्या ८ पुगेको छ ।
निर्वाचन बहिस्कार गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शृंखलाबद्ध विस्फोट गराइरहँदा पनि सुरक्षा संयन्त्रले यसलाई रोक्ने प्रभावकारी कदम चाल्न सकेको छैन । बरु, राजनीतिक दलका नेताहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
एमाले र माओवादी केन्द्रले विस्फोटका घटनामा सरकारकै संलग्नता रहेको आरोप लगाउँदै आएका छन् ।
तर, सरकारले भने त्यसलाई अस्वीकार गर्दै सुरक्षा व्यवस्था सुदृढ तुल्याउन सुरक्षा निकायलाई निर्देशनमात्र दिएको छैन, घटनामा संलग्नलाई तत्काल कडा कारबाही गर्न निर्देशनसमेत दिइरहेको छ ।
सुरक्षा निकायले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट चुनावी सुरक्षामा खासै खतरा नहुने आँकलन गर्दै निगरानीमात्र बढाउने निष्कर्ष निकालेको छ ।
प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका केही कार्यकर्तालाई नियन्त्रणमासमेत लिएको छ । तर, विस्फोटकै घटनामा संलग्न भएकाहरुलाई भने पक्राउ गर्न सकेको छैन ।
उम्मेदवारमाथि भइरहेका शृंखलाबद्ध आक्रमणलाई हेर्ने हो भने सुरक्षा व्यवस्थामा केही कमजोरी भएको हो कि भन्ने भान परेको छ ।
संविधान कार्यान्वयनका लागि मतदाता उत्साहित भएर निर्वाचनको दिन पर्खिरहेकाबेला भएका यस्ता घटनाले उनीहरुमासमेत केही त्रास सिर्जना गरेको छ ।
मतदातालाई र उम्मेदवारलाई आश्वस्त पार्दै सुरक्षा निकायले चार घेराको सुरक्षा रणनीति अपनाउँदै आएको छ ।
सामान्य, संवेदनशील र अतिसंवेदनशील क्षेत्र पहिचान गरी गृह मन्त्रालयले त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ । तर, राजनीतिक दलका प्रभावकाली नेताहरुलाई नै निशाना बनाउँदै आक्रमण गर्नेक्रम रोकिएको छैन ।
यद्यपि, निर्वाचन सुरक्षाको जिम्मा लिएर पहिलो घेरामा रहने नेपाल प्रहरीले भने अराजक गतिविधि गरी चुनाव भाँड्ने षडयन्त्र गर्ने तत्वलाई नियन्त्रणमा लिइएको जनाउँदै सुरक्षा व्यवस्था चुस्त र दुरुस्त भएकाले उम्मेदवारहरुलाई चुनावी अभियानमा खासै फरक नपर्ने जनाएको छ ।
प्रहरीले निर्वाचन सुरक्षाका सबै उपाय अवलम्बन गरिने स्पस्ट पार्दै मतदातालाई निर्धक्क भएर चुनावी अभियानमा सहभागी हुन अपिल गरेको छ ।
नेपाल प्रहरीलाई सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीले साथ दिइरहेकाबेला उम्मेदवारमाथि भइरहेका शृंखलाबद्ध आक्रमणका घटनाले निर्वाचन सुरक्षामा गम्भीर प्रश्न खडा भएको छ ।
उम्मेदवारमाथि भइरहेका आक्रमण रोक्न र भयमुक्त निर्वाचनको वातावरण बनाउन चारओटै सुरक्षा निकायले थप जनशक्ति परिचालन गरी प्रभावकारी रणनीति तय गर्नुपर्ने आवश्यकता देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्