
जिम्बाब्वेको सेनाले गत बुधबार मुगाबेबाट शासनसत्ता हातमा लिएको थियो ।
राष्ट्रपति मुगाबेलाई पदबाट राजिनामा दिलाउन दवाव सिर्जना गर्न जिम्बाब्वेका प्रभावशाली पूर्व सैनिकहरूको संगठन (जिम्बाब्वे नेशनल लिबरेसन वार भेटेरान्स एसोसिएसन)ले राजधानी हरारेमा शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेको थियो ।
ठूलो संख्यामा प्रदर्शनमा भएको संख्याले सेनाको कदमलाई जिम्बाब्वेका जनताले अनुमोदन गरेको सहजै अनुमान गर्ने अवस्था देखिएको छ ।
प्रदर्शनकारीले ‘मुगाबेले सत्ता छोड’ र ‘मुगाबे वंशलाई मान्दैनौँ’लगायतका नारा लगाउँदै चीसो मौसमको प्रवाह नगरी सडकमा सेनाको प्रशंसा गर्दै नाचगानसमेत गरेका थिए ।
सडक प्रदर्शनमा ठूलो संख्यामा भूतपूर्व सेना, सर्वसाधारण, राजनीतिक नेता, नागरिक समाज, परम्परागत जातीय समूहका अगुवाहरू तथा युवाहरूको सहभागीता रहेको थियो ।
सेनाले शासनसत्ता सम्हालेपछि जिम्बाब्वेको सत्ताधारी दल जिम्बाब्वे अफ्रिकन नेशनल यूनियन– प्याट्रिओटिक फ्रन्ट (जेडएएन्यू–पिएफ) ले समेत मुगाबेलाई पदबाट राजिनामा दिन आग्रह गरेको छ ।
जेडएएन्यू–पिएफले यदि ९३ वर्षीय नेताले पदबाट हट्न अस्वीकार गरेमा उनलाई दलले फिर्ता बोलाउने बताएको छ ।
जेडएएन्यू–पिएफको १० ओटै प्रान्तले मसगाबेको राजिनामा माग्ने बिषयमा सहमति जनाएका छन् । उक्त दलले राष्ट्रपति मुगाबेले गतहप्ता बर्खास्त गरेका पूर्व उपराष्ट्रपति एमरसन माङगाग्वाको पुनर्वहालीका लागिसमेत राष्ट्रपतिलाई दवाव दिएको छ ।
सत्ताधारी दलले पछिल्लो राजनीतिक घटनाक्रमबारे सेनाले शासनसत्ता हातमा लिएको दुई दिन भित्रै केन्द्रिय समितिको बैठक बोलाई आगामी दिनमा कसरी अघि बढ्ने भन्ने योजनाबारे छलफल गरेको थियो ।
सेनाले शासनसत्ता हातमा लिएयता आफ्नै घरमा नजरबन्दमा रहेकोमा शुक्रवार पहिलोपटक उनी सार्वजनिक कार्यक्रममा देखिएका थिए । आफू कुलपति रहेको विश्वविद्यालयको दीक्षान्त समारोहलाई उनले सम्बोधन गरेका थिए । तर, उनकी पत्नी ग्रेस मुगाबे भने त्यहाँ उपस्थित भएकी थिइनन् । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्