
उत्तर कोरिया र क्युबाको द्विपक्षीय सम्बन्धका साथै पछिल्लो समयमा विकसित विविध परिस्थितिजन्य विषयमा दुई देशबीच आवश्यक छलफल गर्न उत्तर कोरियाली विदेशमन्त्री योङ हु क्युबा जान लागेको बताइएको छ ।
क्युबाको विदेशमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ । उनी सोमबार (आजै) अपरान्ह क्युबाको राजधानी हवाना पुग्न लाग्नेको समाचारमा जनाइएको छ ।
सो भ्रमणका क्रममा उनले क्युबाली आफ्ना समकक्षी बुर्नाे रोड्रिगेजसँग द्विपक्षीय वार्ता गर्नेछन् । उनी क्युबामा दुई दिनसम्म बस्नेछन् । त्यस क्रममा उनी हवानामा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा सहभागी हुनृ बताइएको छ ।
प्राप्त पछिल्लो समाचारअनुसार उनको सो भ्रमण यस्तो समयमा भएको छ जुन समयमा अर्थात हालैका दिनहरुमा उत्तर कोरिया र क्युबासँग नै अमेरिकाको सम्बन्ध बिग्रिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले उत्तर कोरियाका विरुद्धमा आर्थिक नाकाबन्दी लगाएको छ । यतिमात्र नभएर उत्तर कोरियाका विरुद्धमा अमेरिकाले सेना पनि परिचालन गर्नसक्ने बताउदै आएको छ ।
उता क्युबासँग पनि पछिल्लो समयमा अमेरिकाको सम्बन्ध विग्रिएको छ । क्युबासँगको सम्बन्धका कारण अमेरिकाले गत महिनामात्र क्युबामा रहेको अमेरिकी दूताबासबाट आफ्ना आधाजति कर्मचारी फिर्ता बोलाएको थियो ।
सन् १९६० मा कूटनीतिकसम्बन्ध स्थापना भएदेखि नै क्युबा र उत्तर कोरियाले भने असल कूटनीतिक सम्बन्ध कायम गर्दै आएका समाचारमा जनाइएको छ ।
उत्तर कोरियाले पछिल्लो समयमा आणविक क्षेप्यास्त्र परीक्षण गरिरहेका कारण त्यसको विरोध गरिरहेको अमेरिकाका विरुद्धमा उत्तर कोरिया झन कडा रुपमा प्रस्तुत हुने गरेको छ । यसकारण यी दुई देशको सम्बन्ध अहिले राम्रो छैन ।
त्यसैगरी, क्युबासँग अमेरिकाको झन्डै आधा शताब्दि लामो समयदेखि सम्बन्ध बिग्रिएको थियो । त्यस सम्बन्धमा अमेरिकाका निवर्तमान राष्ट्रपति बाराक ओबामाको प्रयासले सम्बन्ध पुनःस्थापना गरिएको थियो ।
तर, ट्रम्प प्रशासन आएपछि भने त्यसले निरन्तरता पाउन सकेन । अहिले अमेरिकीहरु क्युबा जाँदा पनि सरकारको अनुमति लिएर जानुपर्दछ भने अमेरिकीले क्युबामा गएर वा क्युबालीले अमेरिकामा आएर ब्यापार व्यवसाय गर्न नपाउने नयाँ व्यवस्था लागू गरिएको छ । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्