
धनुषाको नगराइन नगरपालिकास्थित लगमा बुधबार आयोजित चुनावी सभामा उनले मधेशीको हक अधिकार, स्वाभिमान र सम्मानको रक्षाका लागि मधेशवादी दलकै पक्षमा मतदान गर्न सबैमा अपिल गरे ।
धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका महतोले भने, ‘मधेशी जनताकै मत लिएर मधेशी जनतामाथि नै गोली चलाउने हत्यारालाई यस पटकको निर्वाचनबाटै मधेशी जनताले हिसाब लिने छ ।’
मधेशअधिकार सम्पन्न नभएसम्म आन्दोलन जारी रहने उल्लेख गर्दै उनले मधेशी जनतालाई अधिकार सम्पन्न नबनाएसम्म आन्दोलन नरोकिने बताए ।
महतोले राजपा जितेमात्रै मधेशको जित हुने बताउँदै मधेशलाई अधिकार सम्पन्न र बराबरीको हक दिलाउन राजपालाई जिताउन मतदातालाई अपील गरे ।
‘काँग्रेस सधैँ सत्तामा रहेको छ, तर पनि यहाँका जनकपुर चुरोट कारखाना बन्दभयो, जनकपुर भिठ्ठामोड, जटहीलगायतका सडकको अवस्था जीर्ण छ, यहाँसम्म कि जानकी मन्दिरलाई पनि विश्व सम्पदा सूचीमा ल्याउन सकिएन,’ उनले भने, ‘राजपा जितेर गयो भने यी सबै मुद्दाको सम्बोधन हुन्छ ।’ (रासस)
प्रतिक्रिया दिनुहोस्