पहिलो चरणमा निर्वाचन हुनेमध्येको एक नुवाकोट जिल्लामा पनि चुनावी रौनक उत्कर्षमा पुगेको छन् ।
राष्ट्रिय राजनीतिमा पहिचान बनाएका पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महत चुनावी दौडमा रहेका कारण नुवाकोट क्षेत्र नम्बर–१ निकै चर्चामा छ ।
नुवाकोट क्षेत्र नम्बर–१ मा मुख्यगरी कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारबीच नै तीव्र प्रतिस्पर्धा देखिएको छ ।
चुनावी प्रचार–प्रसारको उत्तरार्धमा आइपुग्दा उम्मेदवारहरुले घरदैलो र चुनावीसभालाई तीव्रता दिएका छन् ।
यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट पूर्वअर्थमन्त्री डा. महत र माओवादी केन्द्रका नेता हितबहादुर तामाङबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
पटक–पटक अर्थ मन्त्रालय सम्हालीसकेका र आगामी दिनमा पार्टी नेतृत्व लिने आकांक्षा बोकेका डा. महत मुलुकको समृद्धि आफ्नो पहिलो प्राथमिकता भएको बताउँछन् ।
पार्टी एकीकरण नै गर्ने भन्दै चुनावी तालमेल गरेर मैदानमा ओर्लिएका एमाले र माओवादी केन्द्रले तामाङलाई अघि सारेको छ ।
मतदातालाई आफूतिर तान्न घरदैलोमा व्यस्त रहेका तामाङले मुलुकमा स्थायी शान्ति र विकासलाई मुख्य एजेन्डा बनाएका छन् ।
यी दुवै उम्मेदवार पुरानै प्रतिस्पर्धी हुन् । यसअघि पनि महत र तामाङ २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा दुईपटक भिडिसकेका छन् । दुवै भिडन्तमा कांग्रेस नेता डा. महतले बाजी मारेका थिए ।
यसपटक पनि डा. महत आफ्नो जितलाई गठबन्धनले कुनै असर नपार्ने दाबी गर्छन् ।
तर, तामाङ भने अघिल्ला निर्वाचनभन्दा यसपटक फरक परिस्थिति भएकाले आफू जित्ने जिकिर गर्छन् ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवारजस्तै प्रदेशसभा सदस्यका उम्मेदवारहरु पनि मतदाता रिझाउन अन्तिम कसरतमा छन् ।
प्रदेशसभा सदस्य उम्मेदवारहरुले स्थानीय विकास निर्माणका एजेन्डालाई प्राथमिकतामा राखेका छन् भने शान्ति र संविधान कार्यान्वयनको एजेन्डालाई पनि अघि सारेका छन् ।
प्रदेशसभा सदस्यका उम्मेदवारहरुले पनि आफूले जित्ने दाबी गरिरहेका छन् ।
नुवाकोट क्षेत्र नम्बर–१ मा १ लाख ५ हजार २८७ मतदाता रहेका छन् ।
नुवाकोटमा दुई प्रतिनिधिसभा र ४ प्रदेशसभा सदस्यका लागि आगामी १० गते मतदान हुँदैछ ।




प्रतिक्रिया दिनुहोस्