Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


नेपाली नागरिकसरह नागरिकता दिन गैरआवासीय नेपाली संघको माग


0
Shares

काठमाडौं, पुस १२ । गैरआवासीय नेपाली संघले आफूहरूलाई नेपाली नागरिकसरह नागरिकता पाउने कानुनी व्यवस्था गर्न आग्रह गरेको छ ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, अध्यक्ष भवन भट्टलगायतले यस्तो आग्रह गरेका हुन् ।

संस्थापक अध्यक्ष महतोले गैरआवासीय नेपालीलाई पनि नेपाली नागरिकसरह नागरिकता पाउने कानुनी व्यवस्था गर्न आग्रह गरे ।

‘नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा उनले ‘विद्यमान कानुनमा गैरआवासीय नेपाली नागरिकहरूलाई राजनीतिक अधिकार कटौती गरी नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्ने व्यवस्था गरिएको’ उल्लेख गर्दै अब राजनीतिक अधिकार पनि समावेश गर्न उनले आग्रह गरे ।

यस्तै, संघका अध्यक्ष भट्टले पनि गैरआवासीय नेपालीहरु नेपाललाई समृद्ध बनाउन प्रतिबद्ध रहेको भन्दै त्यसमा शंका नगर्न आग्रह गरे ।

नेपालको समृद्धिको अभियानमा गैरआवासीय नेपालीहरू सहयोगको दायरा बढाउन अझै क्रियाशील भएर लागिपर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

बैठकमा सांसद दिलेन्द्रप्रसाद बडूले गैरआवासीय नेपालीलाई सम्बन्धित देशकै नेपाली दूतावासबाट नागरिकता लिन पाउने व्यवस्था गर्नुपर्ने बताए ।

गैरआवासीय नेपालीहरूको भावी पुस्ताले पनि नेपाली नागरिकता पाउने व्यवस्था गर्न सरकारले अप्ठ्यारो मान्न नहुने उनको भनाइ थियो ।

अर्का सांसद कृष्णभक्त पोखरेलले गैरआवासीय नेपालीहरूको ज्ञान, सीप र पुँजी राष्ट्र निर्माणमा आवश्यक रहेको भन्दै त्यसका लागि आवश्यक कानुनी प्रबन्ध गर्नुपर्ने बताए ।

Skip This