
काठमाडौं, पुस १२ । गृहमन्त्री रामबहादुर थापाले पूर्वमन्त्री सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित अधिकारसम्पन्न राजनीतिक वार्ता टोलीले शान्ति र स्थिरता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन् ।
बिहीबार गृह मन्त्रालयमा वार्ता टोलीले तयार पारेको प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले सरकारले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकामा धन्यवादसमेत दिए ।
आगामी दिनमा वार्ता गर्नुपरे आवश्यकताअनुसार यही टोलीको सहयोग लिइने गृहमन्त्रीको भनाइ थियो ।
संयोजक पाण्डेले सरकारले दिएको जिम्मेवारीअनुरुप आफूहरुले आन्दोलनरत् पक्षहरुसँग औपचारिक र अनौपचारिक छलफल गरेको जानकारी दिए ।
‘मुलुकमा द्वन्द्वरत् अवस्था छैन’
वार्ता टोलीले आन्दोलनरत् विभिन्न पक्षसँग वार्ता गरेको थियो ।
वार्ता टोलीले मुलुकमा द्वन्द्वरत् अवस्था नरहेको जनाएको थियो ।
गैरकानुनी गतिविधि गर्ने एकाध समूहबाहेक सबै समूह विगतका क्रियाकलाप परित्याग गरी मूलधारको राजनीतिक प्रक्रियामा समावेश भएको टोलीले जनाएको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीबाहेक राजनीतिक हैसियतका कुनै समूह नरहेको टोलीको निष्कर्ष छ ।
संयोजक पाण्डेकाअनुसार सरकारको अभिलेखमा ४५ वार्ता समूह रहेकामा वार्ता टोलीले विस्तृतरुपमा खोज्दा २६ समूहको पहिचान भएको र त्यसमध्ये २० समूह आफैं समाप्त भइसकेको जनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्