Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


प्रस्तावित प्रधानन्यायाधीश जबराविरुद्ध नौ उजुरी


0
Shares

काठमाडौं, पुस १२ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि प्रस्तावित चोलेन्द्रशमशेर जबराविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाइ समितिले बिहीबार जानकारी गराएको छ ।

समितिमा न्यायाधीश जबराविरुद्ध ९ ओटा उजुरी परेका छन् ।

समितिले प्रस्तावित प्रधानन्यायाधीश जबराविरुद्ध उजुरी दिने उजुरीकर्तालाई शुक्रबार (भोलि) दिउँसो ३ बजे समितिको बैठकमा सोधपुछका लागि बोलाउने निर्णय गरेको छ ।

संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइका लागि समितिले केही उजुरी भए दिन बुधबारसम्मको समय तोकेको थियो ।

उनीविरुद्ध विराटनगर पुनरावेदन अदालतमा रहँदा ‘तास जुवा होइन, बौद्धिक खेल हो’ भनी फैसला गरेको, तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विरोधमा परेको उजुरीमा कुनैपनि कानुनी आधारबिना नै कार्यान्वयन नगर्नू भनी संसदलाई आदेश दिएको तथा मुद्दा फैसला गर्दा आर्थिक चलखेल गरेकोसहितका आरोपमा उजुरी परेका छन् ।

जबरालाई गएको मंसिर २७ गते संवैधानिक परिषदले संसदीय सुनुवाइका लागि सिफारिस गरेको थियो ।

अब सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेमा उनी प्रधानन्यायाधीश बन्नेछन् ।

यसअघि, संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको थियो ।

जोशीलाई अस्वीकार गरेपछि संवैधानिक परिषदको बैठकले वर्तमान प्रधानन्यायाधीश आमेप्रकाश मिश्रलाई सिफारिस गरेको थियो । मिश्र सुनुवाइ समितिबाट अनुमोदन भएका थिए ।