
एक करोड अमेरिकी डलर मूल्य इनाम घोषणा गरेको पाकिस्तानका इस्लामवादी नेता हाफिज सइद अदालतको आदेशपछि लाहोरस्थित आफ्नै घरबाट नजरबन्दबाट मुक्त भएका हुन् ।
अमेरिका र भारतले ९ वर्षअघि १६० जनाभन्दा बढी मारिने गरी भारतको मुम्बइ सहरमा भएका श्रृखंलाबद्ध आक्रमणलगायत उग्रवादी गतिविधिको योजना बुनेको आरोप सइदमाथि लगाउँदै आएका छन् ।
उत्तरपूर्वी पाकिस्तामा अवस्थित लहोरमा बिहीबार साँझ उनको रिहाई लगत्तै प्रतिबन्धित संस्था जमात उद दावाले सार्वजनिक गरेको एउटा भिडियोमा उनलले भारतले लगाएको आरोप गलत भएको बताएका छन् । साथै, उक्त भिडियोमा उनले भारत प्रशासित क्षेत्र कश्मिरको स्वतन्त्रताका लागि पाकिस्तानी नागरिकहरुलाई साथ दिने प्रतिबद्धतासमेत जनाएका छन् । भिडियो सन्देशमा उनले भनेका छन्, भारतले सधैँ आतंकवादीको आरोप लगाएपनि उच्च अदालतको आदेशले भारतीय प्रचार झुट्टो रहेको पुष्टि गरेको छ ।’
यसै हप्ता पाकिस्तान एक अदालतले सइद सार्वजनिक सुरक्षाका लागि जोखिम रहेको भन्ने सरकारी तर्कलाई अस्वीकार गर्दै उनलाई रिहा गर्न आदेश दिएको थियो । अदालतले उनीविरुद्ध अभियोग लगाउने आधारसहितका प्रमाण नभेटिएको बताउँदै आएको छ ।
‘बीबीसी‘का अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आतंकवादसँग निकट सम्बन्ध राख्ने देशहरुविरुद्ध कडा रुपमा प्रस्तुत भएपछि पाकिस्तान सरकारले गत जनअरीमा उनलाई लाहोरस्थित आफ्नै घरमा नजरबन्दमा राख्ने निर्णय गरेको थियो ।
सन् २००१ मा भारतीय संसदमा गरिएको हमलामा लस्कर ए तायबालाई आरोपित गरिएपछि उनलाई तीन महिना थुनामा राखिएको थियो । त्यस्तै, सन् २००६ को अगष्टमा पनि अरु देशहरुसँगको सम्बन्ध बिग्राने गतिविधिमा संलग्न रहेको आरोपमा उनी केही महिना जेलमा बसेका थिए ।
सइदले सन् १९९० को दशकमा पाकिस्तान मुख्यालय रहेको ‘लस्कर ए तोयबा’ उग्रवादी समूहको गठन गरेका थिए । तर, त्यसविरुद्ध सरकारले प्रतिबन्ध लगाएपछि उनले एउटा पुरानो संगठन ‘जमात उद दावा’सन् २००२ मा पुनर्गठन गरेका ‘बीबीसी’ले उल्लेख गरेको छ ।
उनले ‘बीबीसी’लाई सन् २०१४ मा दिएको एउटा दुर्लभ अन्तर्वार्तामा मुम्बइ आक्रमणसँग आफ्नो कुनै सम्बन्ध नरहेको भन्दै त्यो भारतीय प्रचारबाजी भएको बताएका थिए ।
‘बीबीसी’ संवाददाता सेकन्दर केरमानीका अनुसार सइदकोे रिहाइले पाकिस्तानी गुप्तचर निकायले हाफिज सइद र उनीसँग सम्बन्धित लडाकुहरुलाई समर्थन गरेको आरोप लगाउँदै आएको भारतसँगको तनाव भने अझ बढाउन सक्ने देखिन्छ ।’ एजेन्सी
प्रतिक्रिया दिनुहोस्