१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


अनलाइन सेवाबाट काम सुरु भएपछि लेखापढी व्यवसाय संकटमा


0
Shares

-हरि शर्मा/ईमेज

नवलपरासी । भूमिसुधार तथा मालपोत कार्यालहरुमा अनलाइन सेवाबाट काम सुरु हुन थालेसँगै सेवाग्राही लाभान्वित भएका छन् तर अर्कोतर्फ लामो समयदेखि लेखापढी व्यवसाय चलाइरहेकाहरु भने चिन्तित हुन थालेका छन् ।

सरकारले देशभरका भूमिसुधार तथा मालपोत कार्यालयमा अनलाइन सेवालाई अनिवार्य गरेसँगै नवलपरासीका लेखापढी व्यवसायी पनि रोजगारीमा संकट परेको भन्दै चिन्तित बनेका छन् ।

अनलाइन सेवा सुरु हुनुअघि मालपोत कार्यालयमा लेखापढीको काम गर्दै आएकाहरु अहिले भने कामविहीन हुनुपर्ने अवस्था आएको छ ।

अनलाइन सेवाको सुरु भएपछि लेखपढ गर्न सक्ने जुनसुकै व्यक्तिहरुले फारम भर्न सक्ने भएकाले उनीहरुको माग हुन छाडेको छ ।

पहिलोपटक मात्र साक्षी बस्नुपर्ने र त्यसपछि साक्षीसमेत आवश्यक नपर्ने भएकाले लेखापढी व्यवसायीको माग घट्न थालेको छ ।

सजिलोसँग राम्रै आम्दानी हुने भएकाले यो पेशातर्फ धेरैको आकर्षण बढिरहेको थियो ।

तर अनलाइन सेवा सुरु भएपछि ४० देखि ५० वर्षसम्म कामगर्दै आएकहरु सबैभन्दा बढी मर्कामा परेको नवलपरासीका रविशंकर उपाध्यायको गुनासो छ ।

अनलाइन प्रणाली आएपछि आएपछि धेरैलाई वैकल्पिक पेशाको खोजी गर्नुपर्ने बाध्यता भएको व्यवसायीको गुनासो छ ।

अर्कोतिर अनलाइन प्रणाली सुरु भएपछि काम पारदर्शी हुने भएकाले सेवाग्राही ठगिनु नपर्ने कार्यालयको दाबी छ ।

अनलाइन सेवाबाट कर्मचारी र अन्य पूर्वाधार पर्याप्त नहुँदा काममा ढिलासुस्ती भएका गुनासा पनि आइरह पनि यो समस्या छिट्टै समाधान हुने भूमिसुधार तथा मालपोत कार्यालय परासीले जनाएको छ ।

नवलपरासीका डेढ सय देखि दुई सयको संख्यामा रहेका लेखापढी व्यवसायीको पेशामा धक्का लागेपनि यसबाट सेवाग्राही भने उत्साहित नै देखिन्छन् ।