शुक्रबार एक विज्ञप्ति निकाली एम्नेष्टी इन्टरनेसनल नेपालले नेपालको ऐतिहासिक प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनकाक्रममा नेपालका अधिकारीहरूले उम्मेदवार तथा मतदातालगायत सबै मानिसको सुरक्षा र हितको संरक्षण गर्नुपर्ने जनाएको हो ।
विभिन्न राजनीतिक दलका निर्वाचन अभियानकर्ताहरूले देशका विभिन्न भागमा विस्फोटक पदार्थको प्रयोगलगायत हिंसाका घटनाहरूको सामना गरिरहेको भन्दै पछिल्ला घटनाले मतदाताहरू मतदान गर्न जानेक्रममा उनीहरूको सुरक्षा र व्यक्तिगत हितका सवालमासमेत त्रास बढाएकोमा ध्यानाकर्षण गराइएको छ ।
मानिसको अभिव्यक्ति स्वतन्त्रताको अधिकार र शान्तिपूर्वक भेला हुन तथा सभा गर्न पाउने अधिकारको संरक्षण गर्नुका साथै सार्वजनिक सुरक्षा सुनिश्चित गर्न नेपाली अधिकारीहरुलाई एम्नेष्टीले आग्रह गरेको छ ।
सबै हिंसाका घटनाको स्वतन्त्र र प्रभावकारी अनुसन्धान गर्न एवं घटनाका सन्दिग्धहरूलाई निष्पक्ष सुनुवाइको माध्यमबाट जवाफदेही बनाउन एम्नेष्टी इन्टरनेसनल नेपालले आग्रह गरेको छ ।
आफ्नो कर्तव्य पालना गर्नेक्रममा अन्तर्राष्ट्रिय मापदन्डहरूको पालना गर्न सुरक्षा बलहरूलाई आग्रह गरिएको छ ।
स्वेच्छाचारी हिरासत वा बलको अधिक प्रयोगबाट मानिसका अधिकार उल्लंघन हुन नदिन पनि भनिएको छ ।
गएका केही दिनयता पूर्वउपप्रधानमन्त्रीहरू, पूर्वमन्त्रीहरू, पूर्वसभामूखलगायतका प्रमुख तीन दलका नेताहरू लक्षित दर्जनौं विस्फोटका घटना भएका सन्दर्भमा एम्नेष्टीले यस्तो आग्रह गरेको हो ।










प्रतिक्रिया दिनुहोस्