Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


राष्ट्र बैंकद्वारा पुँजीबजार सुधार कार्यदलको सुझाव सम्बोधन हुनेगरी निर्देशन जारी


0
Shares

काठमाडौं, पुस ११ । नेपाल राष्ट्र बैंकले लगानीकर्ताहरुले पुँजीबजारको सुधारका लागि माग गर्दै आएका अधिकांश मागहरु सम्बोधन हुनेगरी निर्देशन जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित मुद्रा तथा पुँजीबजार सुधारका लागि सुझाव दिन गठित कार्यदलले हालै सरकारसमक्ष सुझाव बुझाएको थियो ।

उक्त उच्चस्तरीय समितिले दिएका सुझावमध्ये केन्द्रीय बैंकसँग ताल्लुक भएका सबैजसो सुझाव सम्बोधन हुनेगरी राष्ट्र बैंकले बुधबार निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकले स्प्रेड दर घटाउनेदेखि आधार दर गणनाको विधि परिवर्तन, वाणिज्य बैंकहरुलाई ब्रोकर सेवा खुल्ला र सेयर धितो कर्जालाई खुकुलो बनाउनेसमेतका निर्णय गरेको हो ।

राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको छ ।

यसैगरी, प्राथमिक पुँजीको २५ प्रतिशतसम्ममात्र कर्जा प्रवाह गर्न पाउने व्यवस्थालाई परिमार्जन गरी ४० प्रतिशतसम्म सेयर धितो कर्जा दिनसक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ  ।

सेयर धितो कर्जाको सीमा पनि ५० बाट ६५ प्रतिशत पुर्‍याइएको छ ।

यसैगरी, वाणिज्य बैंकहरुले सहायक कम्पनीमार्फत् सेयर ब्रोकर सेवा दिनसक्ने भएका छन् ।

यस्तै, मार्जिन कल गर्दा उक्त सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस सेयरहरु सूचीकरण नभएको अवस्थामासमेत धितोमा राखिएको सेयर संख्यामा गणना गर्नसकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।