Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


राष्ट्रियसभामा कर्मचारी समायोजन अध्यादेश प्रस्तुत्


0
Shares

काठमाडौं, पुस ११ । राष्ट्रियसभाको बुधबारको बैठकमा ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ प्रस्तुत् भएको छ ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उक्त अध्यादेश प्रस्तुत् गरे ।

संसद बैठक नभएको बेला संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न उक्त अध्यादेश गत मंसिर २३ गते जारी भएको थियो ।

बैठकले पूर्वसांसद चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधर र मोतिदेवी थारूको निधनप्रति शोक प्रकट गर्दै शोकप्रस्ताव पारित गरेको छ ।

कांग्रेसका तर्फबाट २०५१ र २०५६ सालमा प्रतिनिधिसभामा निर्वाचित बाँस्तोलाको ७२ वर्षको उमेरमा गत असोज २७ गते निधन भएको थियो ।

तत्कालीन नेकपा एमालेका तर्फबाट २०४८ र २०५१ सालमा प्रतिनिधिसभमा निर्वाचित तुलाधरको ७६ वर्षको उमेरमा गत कात्तिक १८ गते निधन भएको थियो ।

२०६३ सालमा तत्कालीन नेकपा माओवादीका तर्फबाट अन्तरिम व्यवस्थापिका–संसद सदस्य रहेकी थारूको ४५ वर्षको उमेरमा गत मंसिर १० गते निधन भएको थियो ।

बैठकको सुरुमै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

राष्ट्रियसभाको अर्काे बैठक यही पुस १३ गते बिहान ११ बजे बस्नेछ । रासस