१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


कर्मचारी समायोजनका लागि एक लाख ३८ हजार दरबन्दी कायम, आवेदन खुल्यो


0
Shares

काठमाडौं, पुस ११ । सरकारले निजामती कर्मचारी समायोजनका लागि देशभर एक लाख ३८ हजार १७८ जनाको दरबन्दी कायम गरेको छ ।

संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ जनाको दरबन्दी कायम गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् ।

बुधबारैदेखि कर्मचारी समायोजन फारम भर्न आह्वान गर्दै सूचनासमेत जारी गरिएको छ ।

अनलाइनबाटै समायोजन फारम भरेपछि स्वचालित प्रणालीबाट कुन कर्मचारीलाई कहाँ खटाउने भन्ने टुंगो लाग्ने जनाइएको छ ।

कर्मचारीहरुलाई बुधबारदेखि २१ दिनभित्र आफ्नो विवरण ‘इन्ट्री’ गरेर आफू समायोजन हुन चाहेको तह रोज्न भनिएको छ ।

समायोजनको आधार ज्येष्ठतालाई मानिएकाले ज्येष्ठ कर्मचारीहरुले रोजेर बाँकी रहेका स्थानमा अरु कर्मचारीको पदस्थापन हुनेछ । 

कर्मचारीहरुले अध्यादेशविरुद्ध आन्दोलन गर्दै आएका छन् ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले सरकारलाई दिएको ७ दिने ‘अल्टिमेटम’ बिहीबार सकिँदैछ ।

गत मंसिर २३ गते राजपत्रमा प्रकाशित गरिएको समायोजन अध्यादेश संघीय संसदका दुवै सदनमा छलफलका लागि पेस भएको छ ।