चितवन, पुस ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले जैविक विविधताको संरक्षण हुन नसके मानवको अस्तित्व नै लोप हुने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।
चितवनको सौराहामा बुधबारदेखि सुरु भएको ‘१५औं चितवन हात्ती महोत्सव’को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले जैविक विविधताको संरक्षण गर्ने एकमात्रै प्राणी मानिस भएको भन्दै यसतर्फ सबै सचेत बन्नुपर्ने बताइन् ।
उनले पछिल्लो समय जलवायु परिवर्तनले जैविक विविधतामासमेत असर गरिरहेकाले यसतर्फ सबै सचेत रहनुपर्ने उल्लेख गरिन् ।
वन, वन्यजन्तु र जैविक विविधताको संरक्षण हुन नसके पर्यटन व्यवसायमात्रै होइन, मानवको अस्तित्व नै संकटमा पर्ने भएकाले समयमै सचेत हुन उनले संरक्षणकर्मीलाई पनि आग्रह गरिन् ।
मानव र वन्यजन्तुबीचको सम्बन्ध सुमधुर बनाउन र क्षति कम गर्नतर्फ संरक्षणकर्मीहरु लाग्नुपर्नेमा उनले जोड दिइन् ।
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले सरकारले सन् २०२० लाई लक्षित गरी विमानस्थल सुधार, विस्तारदेखि सम्पदाहरुको पुनःनिमाणमा विशेष ध्यान दिएको बताए ।
सो अवसरमा प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवन प्रदेशकै महत्वपूर्ण जिल्ला भएकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन सबै क्षेत्रको प्रवर्धनका लागि प्रदेश सरकारले काम गर्न लागेको जानकारी दिए ।
पाँच दिनसम्म सन्चालन हुने हात्ती महोत्सवमा हात्तीको दौड, छावाबीचको फुटबल, हात्तीको वनभोजलगायतका विभिन्न गतिविधिहरु हुनेछन् ।
हात्ती महोत्सव हेर्न देशका विभिन्न भागसहित विभिन्न देशबाटसमेत पर्यटकहरु सौराहा आएका छन् ।









प्रतिक्रिया दिनुहोस्