२५ जेष्ठ २०८२, आइतबार | Mon Jun 9 2025


राजकुमार ह्यारीले मेगन मार्कलसँग विवाह गर्ने


0
Shares

राजकुमार ह्यारी र मेगनले केहि वर्षयता एक–अर्कालाई माया गर्दै आएको उल्लेख गर्दै उनीहरुले अब विवाह गर्ने पक्का भएको क्लारेन्स हाउसले सोमबार घोषणा गरेको हो ।

बेलायतको राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोलक्रममा रहेका राजकुमार ह्यारीले अब आउने बसन्त याममा मार्कलसँग विवाह गर्ने छन् । क्लारेन्स हाउसले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘ विवाहपश्चात् उनीहरु केन्जींगटन प्यालेसस्थित नटिंगम कटेजमा बस्ने छन् ।’

‘बीबीसी’का अनुसार राजकुमार ह्यारी र मार्कल सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा थिए ।

विज्ञप्तिमा ह्यारीले विवाह पक्का भएकोबारे घोषणा गर्न पाउँदा आफूलाई खुसी लागेको र विवाहको लागि मार्कलको बाबुआमाको आशीर्वाद पनि पाएको बताएका छन् ।

प्रेमी जोडीको रुपमा राजकुमार ह्यारी र मार्कल गत सेप्टेम्बर महिनामा पहिलोपटक सार्वजनिक रुपमा देखा परेका थिए । एजेन्सी