
सोलुखुम्बु, पुस ११ । जिल्लाको तीन गाउँपालिका जोड्ने दूधकोशी नदीमा बेलिब्रिज निर्माण हुनेभएपछि स्थानीयवासी हर्षित भएका छन् ।
पुस ५ गतेको मन्त्रीस्तरीय बैठकको निर्णयले सोताङको पावै र थुलुङ–देउसा जोड्ने दूधकोशी नदीमा बेलिब्रिज निर्माण गर्ने निर्णय गरेपछि यहाँका बासिन्दा खुशी भएका हुन् । कोशी पारीको साविक पाँच गाविस पावै, सोताङ, बुङ, छेस्काम र गुदेल रहेको उक्त क्षेत्रमा तीन वर्ष अगाडि नै सडक सञ्जाल पुगीसकेको छ ।
गत वर्षदेखि ह्युमपाइप राखेर सडक सञ्चालन गरिएको भए पनि सहज नभएको बस चालक बलराम थापा बताउँछन् । नदीमा १६ ह्युमपाइप राखेर सडक सञ्चालन गरिएको थियो ।
‘बेलिब्रिजजस्तो सहज हुँदैन,’ उनले भने । पानी बग्ने सबै क्षेत्रमा ह्युमपाइप छैन । आधा पानीमै हिँड्नुपर्ने हुँदा समस्या हुने गरेको छ ।
दूधकोशीमा बेलिब्रिज निर्माण भए जिल्ला सदरमुकाम, सङ्घीय राजधानी काठमाडौं र प्रदेश राजधानी विराटनगर आवतजावत गर्न सहज हुनेछ । कृषि उपज बजार लैजान तथा बाह्य सामग्री ल्याउन सहज हुने छ ।
‘ह्यमुपाइप पूरै खोलामा राख्न नसक्दा सवारी साधन चलाउन निक्कै गाह्रो हुन्थ्यो,’ अर्का चालक मानबहादुर घतानीले भने । उनले पक्की पुल बनाउन पहल गर्न आवश्यक रहेको बताए ।
दिप्लीघाटमा बेलिब्रिज निर्माणका लागि प्रदेश सरकारले रु ४६ लाख बजेट विनियोजन गरिसकेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्