Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


महालेखापरीक्षकको अनुमतिपछि ‘वाइडबडी’ खरिद गर्न रकम भुक्तानी : मन्त्री अधिकारी


0
Shares

काठमाडौं, पुस १० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले महालेखापरीक्षकको अनुमतिपछि ‘वाइडबडी’ विमान खरिद गर्न दोस्रो किस्ता रकम पठाएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाअन्तर्गत्को सार्वजनिक लेखा समितिको वाइडबडी विमान खरिद प्रक्रियाबारे छानबिन गर्न गठित उपसमितिलाई उनले महालेखापरीक्षकसँग छलफल गरेरै बाँकी रकम भुक्तानी गरेको बताए ।

उपसमितिले ‘महालेखापरीक्षकको प्रतिवेदनमा खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनविपरीत भएको ठहर गरेपछि पनि किन विमान खरिद गर्न बाँकी किस्ता रकम भुक्तानी दिएको ?’ भनेर सोधेको प्रश्नमा उनले यस्तो बताएका हुन् ।

विमान खरिद गर्न पहिलो किस्ता पठाइसकेको र आफूले मन्त्रालय सम्हालेपछि ‘के गर्ने ?’ भनेर महालेखापरीक्षकसँगको छलफलपछि महालेखापरीक्षकले ‘विमान ल्याउन दिनू’ भनेपछि थप भुक्तानी पठाइएको उनको भनाइ थियो ।

आफूले चाहेको भए त्यतिबेला विमान खरिद प्रक्रिया रोक्नसक्ने भएपनि नरोकेको उनले बताए ।

मन्त्री अधिकारीले छानबिन उपसमितिको निष्कर्ष र प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले विमान नयाँ नै खरिद गरिएको भन्दै त्यसमा शंका नगर्न उपसमितिलाई आग्रह पनि गरे ।