दुर्घटनास्थलमै पानीमुनि बस फेलापरेको छ । दुर्घटनास्थलमा रहेका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यकाअनुसार मृतकको सनाखत हुनसकेको छैन ।
घाइतेमध्ये दुईजनालाई हेलिकोप्टरबाट र सातजनालाई एम्बुलेन्समा काठमाडौं पठाइएको छ । बाँकी १६ जनालाई भरतपुरतर्फ ल्याइएको छ ।
पुरानो मेडिकल कलेजमा ९ जनाको उपचार भइरहेको छ भने बाँकी घाइतेलाई भरतपुरतर्फ ल्याइँदैछ ।
काठमाडौंबाट अर्घाखाँची जान आउँदै गरेको बस इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा बुधबार बिहान दुर्घटना भएको हो । प्रहरीकाअनुसार लु२ख २९१ नम्बरको उक्त बस त्रिशूलीमा खसेको हो ।
काठमाडौंतर्फ जाँदै गरेको ना६ख ४९७२ नम्बरको ट्रकमा ठोक्किएर बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको हो ।
ट्रकका चालक र सहचालक पनि सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।
ट्रकको अघिल्लो भाग कुच्चिएको छ । सडक सामान्य घुमाउरो भएको उनले जानकारी दिए ।
बस घटनास्थलमै नदीको करिब २५ मिटर गहिराइमा फेलापरेको गोताखोरलाई उद्धृत गर्दै शर्माले बताए ।
बस नदीबाट झिक्नका लागि प्रयास थालिएको छ । दुर्घटनास्थल मुग्लिनबाट १३ किलोमिटर काठमाडौंतर्फ पर्दछ । घटना बिहान ९ः१५ बजे भएको हो ।
सो बस काठमाडौंबाट बिहान ५ः४० बजे हिँडेको प्रहरीले जनाएको छ ।
बसले काठमाडौंको काउन्टरबाट २८ जना यात्रीको चलानी लिएको देखिन्छ भने दुईजना बीचबाटोबाट चढाएको घाइतेहरुले बताएका छन् । चालक र सहचालक गरी बसमा ३२ जना रहेको देखिन्छ ।
शर्माले बाटोमा यात्री थपे/नथपेको एकिन हुन नसकेको भन्दै नदीमा बेपत्ता हुनसक्ने आशंकामा खोजीकार्य जारी राखिएको बताए ।
उनले भने–‘एक/दुईजना बेपत्ता भएको हुनसक्ने अनुमानमा खोजीकार्यलाई जारी राखेका छौं ।’
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले घटना भएलगत्तैबाट उद्धारकार्यलाई जारी राखेका छन् ।
भिडियोः नवराज छत्कुली /इमेज ।










प्रतिक्रिया दिनुहोस्