
निर्यात आयात अनुपात लक्ष्यभन्दा बढ्दै गएको छ । गत आर्थिक वर्ष ९ सय १२ अर्ब व्यापार घाटा रह्यो ।
निर्यात आयात अनुपात १/१० मा झार्ने लक्ष्यका बाबजुद् हालको व्यापार घाटा अनुपात १/१३.५ पुगेको छ ।
मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको नेपाल सरकारका सचिवहरुको बैठकमा उक्त चिन्ता व्यक्त गर्दै यसको न्यूनीकरणका विषयमा छलफल भएको हो ।
चालू आ.व. २०७४/०७५ मा ९५६ अर्ब रुपैयाँ व्यापार घाटा पुग्नसक्ने अनुमान गरिएको छ ।
वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले मुलुकको समग्र व्यापार घाटाको अवस्था र यसको समाधानका उपायहरु सम्बन्धमा कार्यपत्र पेस गर्दै मन्त्रालयले व्यापार घाटा कम गर्नका लागि श्वेतपत्र जारी गर्ने तयारी गरिरहेको जानकारी गराए ।
निर्यातमा ‘इन्सेटिम प्याकेज’ तर्जुमा गर्ने, निकासी पैठारी नियन्त्रण ऐन, २०१३ लाई संशोधन गर्ने, नेपालको पारवहनका सम्बन्धमा कोलकाता, हल्दिया र विशाखापटनमा रहेका समस्याहरुलाई सम्बोधन गर्नेलगायतको तयारी पनि गरिरहेको जनाइएको छ ।
नेपालबाट आयात–निर्यात हुने १० प्रमुख वस्तुहरुकाबारे विशेष छलफल भएको जनाइएको छ ।
इनर्जी ड्रिंक, सफ्ट ड्रिंक, फर्निचर, अल्कोहलिक पेयपदार्थ, सुर्तीजन्य वस्तुहरु, मोबाइल फोन, सुनचाँदी, गाडीजस्ता आयतलाई निरुत्साहित गरिनुपर्नेमा जोड दिइएको थियो ।
मुख्यसचिव रेग्मीले व्यापार घाटासम्बन्धी प्रस्तुतिकरणलाई परिमार्जन गरी ‘प्लान अफ एक्सन’ तयार गरी आगामी बैठकमा राख्न निर्देशन दिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्