Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


एक बादी परिवार : जसलाई सिपले सम्मान दियो, मागी खानबाट छुटायो


0
Shares

बादीहरुलाई समाजमा हेलाको पात्रको रुपमा चित्रित गरिन्छ । तर, बझाङ मै बादी समुदायमा यस्ता व्यक्ति पनि छन्, जो आफ्नो सिप र जाँगर चलाएर आत्मनिर्भरमात्र भएका छैनन्, सामाजिक कामको नेतृत्व पनि गर्दै आएका छन् ।

थलारा गाउँपालिकाका गणेश बादी उनको सिपको कारण सो गाउँपालिकाभरी सम्मानित व्यक्तीका रुपमा हेरिन्छन् । थलारामा २८ परिवार बादीको बसोबास छ । यहाँका अन्य बादीहरुको न बासको ठेगान छ, न गाँसको ठेगान छ । तर मजदुरी गर्दा गर्दै विभिन्न किसिमका घर निर्माण गर्ने र काठको काम गर्न सिकेका गणेश बादीलाई भने बर्षभरी नै कामको भ्याइ नभ्याइछ । यो इलाका कै दक्ष मिस्त्रीको रुपमा उनको परिचय जिल्लाभरि फैलिएको छ ।

‘मेरो काम गरि दिनु पर्‍यो भनेर घरमै खुसामत गर्न आउँछन्,’ गणेशले भने, ‘एक्लैले एक वर्षमा बढीमा ३/४ वटाभन्दा बढी घरको जिम्मा लिन सकिन्न । कतिपय त काम गरिदिएन भनेर दुःखमनाउ गर्छन् ।’ आफुले वर्षमा ३ देखि ५ वटा घर र १/२ वटा विद्यालय वा अन्य संघसंस्थाको काम गरेर ५ देखि ७ लाख रुपैयाँसम्म कमाउने गरेको उनले बताए ।

मेहनतको कमाईले उनले आफ्नै सानो र चिटिक्क परेको घर बनाएका छन् । प्रायःले केटाकेटीलाई विद्यालय नपठाउने उनको समुदायमा उनले २ छोराछोरीलाई निजी स्कुलमा पढाइरहेका छन् । अन्यलाई छोराछोरी पढाउनु पर्छ भनेर उनी सम्झाउँछन् । ‘गणेशको परिवार बादी समुदायको मात्र होइन, थलारा गाउँपालिका कोटभैरवकै नमुना परिवार हो,’ कोटभैरवका जगदीश रोकाया भन्छन्, ‘सरसफाई, सभ्यता, सिप, मेहनत सबै क्षेत्रमा यो परिवार उदाहरणीय छ ।’

हुन पनि बादी भनेपछि राम्रोसँग बोल्न पनि अफ्ठेरो मान्ने यहाँका गैरदलित समुदायले वडा नं ५ को नागरिक सचेतना मञ्चको अध्यक्षको रुपमा गणेशलाई निर्विरोध चयन गरेका छन् । सचेतना केन्द्रमार्फत उनी सबैलाई गाउँको विकासमा एकजुट हुन सम्झाइ बुझाई गर्दछन् । उनीमात्रै होइन, उनकी श्रीमती कस्तुरी बादी पनि थलारागाउँपालिका– ५ भरिका महिलाहरुले खोलेको सहकारीको कोषाध्यक्ष भएकी छन् ।

गाउँका सबैले अन्य बादीहरु र आफुहरुलाई गर्ने व्यवहार फरक भएको कस्तुरीले महसुस गरेकी छन् । गणेशले आफ्नो समुदायका अन्य ७ जनालाई पनि सिकर्मी सिप सिकाइरहेका छन् । आफ्नो खुट्टामा नउभिएका कारण हेला भएकोले काम गरेर खानु पर्ने प्रेरणा उनी दिन्छन् ।

आफु मदिरा सेवन नगर्ने उनले अरुलाई मदिराले भविष्य विगार्ने भन्दै छोड्न सम्झाइ बुझाई गरिरहेका छन् । बादी समुदायमा जन्मिएर पनि गाउँकै नमुना बन्न सकेकोमा उनी सबैको प्रसंसाको पात्र भएका थलाराबासी बताउँछन् ।