२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य हुन्न : मन्त्री बाँस्कोटा


0
Shares

काभ्रेपलाञ्चोक, पुस १० । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य नहुने बताएका छन् ।

बनेपा इसाई समितिद्वारा मंगलबार यहाँ आयोजित संयुक्त ख्रिष्टमस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने–‘जबर्जस्त धर्म परिवर्तन स्वीकार्य छैन । धर्म कुनै व्यक्तिको पनि पेवा हैन ।’

उनले नेपाल धर्मनिरपेक्ष मुलुक भएकाले राज्यको कुनै धर्म नहुने बताए ।

मन्त्री बाँस्कोटाले धर्म मान्ने विषय व्यक्तिगत स्वतन्त्रता भएको बताउँदै कसैलाई जबर्जस्त धर्म परिवर्तन गराउनु गलत भएको बताए ।

उनले भने–‘धर्म मेरो निजी मामला हो । यसमा कसैले हस्तक्षेप गर्नुहुन्न र स्वीकार्य पनि हुन्न ।’

मन्त्री बाँस्कोटाले ‘धर्म मान्ने विषयमा कसैले कसैलाई छिःछिः र दूरदूर गर्नुहुन्न’–भने ।

उनले भने–‘कसैको धार्मिक आस्थामाथि विभेद गर्न पाइँदैन ।’

उनले धर्म, जातजाति र भूगोलका आधारमा विभेद गर्न नपाइने कानुनी व्यवस्था रहेको बताए ।

मन्त्री बाँस्कोटाले नेपालको एकता, आपसी सद्भाव भड्काउन कुनैपनि नागरिकलाई छुट नभएको बताउँदै ‘हामीले धार्मिक सहिष्णुता अंगालेका छौं’ भने ।

‘हाम्रो एउटै बस्तीमा अनेक जातजाति र धार्मिक आस्थाका व्यक्ति बस्छन् । हामीले एकार्काको धर्मको सम्मान गर्नु सिक्नुपर्छ’–उनले भने ।

मन्त्री बाँस्कोटाले सरकारले हरेक विभेदको अन्त्यको संकल्प गरेकाले धार्मिक विचारमाथि हमला गर्नेलाई राज्यले कारबाही गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

उनले भने–‘धर्म नैतिकतामा आधारित हुन्छ । एक–अर्को धर्मबीच लडाइँ गर्नुपर्ने कुनै कारण पनि छैन ।’ रासस