Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


अझै नियन्त्रणमा आएन गोरखा जंगलको आगोलागी


0
Shares

गोरखा, पुस १० । उत्तरी गोरखाको सामागाउँ क्षेत्रको जंगलमा लागेको आगो दुई दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।

अत्यधिक हावाका कारण आगो नियन्त्रणमा लिन नसकिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख नरेन्द्र लामाले जानकारी दिए ।

‘आगो नियन्त्रणको प्रयास भइरहेको छ । स्थानीयवासीले अन्य क्षेत्रमा आगो सर्न नदिन विभिन्न प्रयास गरिरहेका छन्’–उनले भने ।

अहिलेसम्म कति हेक्टर जंगलमा आगो फैलिएको छ भन्ने कुनै यकिन हुन नसकेको लामाको भनाइ छ ।

मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने जंगलमा भएको आगोलागीको अवस्था बुझ्न कार्यालयबाट दुई कर्मचारी (रेन्जर) त्यसतर्फ पठाइको भएपनि भौगोलिक विकटताका कारण मंगलबार (आज) अबेरसम्ममामात्र त्यस क्षेत्रमा पुग्ने उनले बताए ।

‘आगो वीरेन्द्र तालतर्फ फैलँदै गएको छ’–आयोजना प्रमुख लामाले भने–‘स्थानीयवासी साम्दोको जंगलमा पनि आगो फैलन्छ कि भनेर सर्तक भएर बसिरहेका छन् ।’

आगोलागीबाट मनास्लु संरक्षण क्षेत्रभित्र रहेका अत्यन्तै दुर्लभ जातका जंगली जनावर तथा चराचुरुंगी बढी जोखिममा परेको लामाको भनाइ छ ।

उक्त क्षेत्र कस्तुरीको बासस्थान क्षेत्र पनि हो । त्यहाँ हिमचितुवा, हिमाली थार, झारल तल्लो क्षेत्रमा कालोभालुलगायतका दुर्लभ जातका जंगली जनावर र पशुपक्षी आगोलागीको जोखिममा परेका छन् ।

स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिनसक्ने अवस्था नै नभएको जानकारी दिएको आयोजना प्रमुख लामाको भनाइ छ ।

‘स्थानीयलाई अग्निरेखा बनाएर बस्न सल्लाह दिइरहेका छौं । नाम्रुङ, फिलिमलगायतका प्रहरीचौकीबाट थप प्रहरी पठाएर सहयोग गर्न सकेको भए सजिलो हुन्थ्यो’–उनले भने–‘आगोले त्यस क्षेत्रमा रहेका धुपी, सल्ला, भोजपत्रलगायतका बहुमूल्य जडीबुटीसमेत नस्ट भएको छ । रासस