१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


उपत्यकाका संवेदनशील स्थानमा सीसी क्यामरा थपिने


0
Shares

काठमाडौं, पुस १० । महानगरीय प्रहरी कार्यालय काठमाडौंले उपत्यकाको संवेदनशील क्षेत्र पहिचान भएका ७५ स्थानमा सीसी क्यामरा थप्ने प्रक्रिया थालेको छ ।

प्रहरीको आफ्नै स्रोत परिचालन गरी तीन जिल्लाका मुख्य–मुख्य क्षेत्रमा क्यामरा थप्न लागिएको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता पूजा सिंहले जानकारी दिइन् ।

सोमबार तीनै जिल्लाका प्रहरी परिसरबाट आवश्यक स्थान पहिचान गरी प्रतिवेदन पेस भएकाले पहिलो चरणको काम थालिएको सिंहले बताइन् ।

उनकै संयोजकत्वमा स्थान पहिचान समितिको बैठक सोमबार बसेको थियो ।

बैठकमा तत्कालै १०० स्थानमा क्यामरा राख्नुपर्ने देखिएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रतिवेदन दिएको थियो । तर, बजेट अभावका कारण पहिलो चरणमा ७५ स्थानमा क्यामरा थप्न लागिएको हो ।

क्यामरा जडान गर्न बोलपत्र आह्वान प्रक्रिया थालिएको छ । जसअन्तर्गत् काठमाडौंमा २२, ललितपुरमा ३९ र भक्तपुरमा १४ ओटा क्यामरा थप हुनेछ ।

नयाँ राख्न लागिएका क्यामरामध्ये आकाशेपुल भएको स्थानमा स्थायी र अन्य चोकमा भने घुम्ने क्यामरा जडान गरिने जनाइएको छ ।

हाल उपत्यकामा ४६० को हाराहारीमा क्यामरा प्रयोग भइरहेका छन् । काठमाडौंमामात्रै ४०२ क्यामरा छन् । भक्तपुरमा ३४ र ललितपुरमा २४ क्यामरा प्रयोगमा छन् ।

अहिले रहेका क्यामरा उपत्यकाका लागि अत्यन्त न्यून हो । स्थानीय तहसँगको समन्वयमा अन्य क्षेत्रको पहिचान गरी क्यामरा थप्ने महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।

समाजमा शान्ति–सुरक्षा कायम गर्न, आपराधिक गतिविधि नियन्त्रण गर्न र दोषी पत्ता लगाउन सीसी क्यामराको महत्वपूर्ण सहयोग हुने भएकाले उपत्यकालाई नै निगरानी गर्नेगरी क्यामरा थप्ने प्रयास जारी छ । रासस