Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


साढे तीन वर्षअघि शिलान्यास झोलुंगे पुल अझै बन्न सकेन्


0
Shares

-रविन भट्टराई/ईमेज

झापा । साढे तीनवर्ष पहिले शिलान्यास गरेको झापाको भद्रपुरस्थित झोलुंगे पुल निर्माण नहुँदा अलपत्र बनेको छ ।

कामको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण १८ महिनाभित्रै सम्पन्न हुनुपर्ने पुल अलपत्र बनेको हो ।

भारतीय सीमावर्ती नाकासँग जोडिएको भद्रपुर नगरपालिकास्थित मेचीपारीको गाउँ जोड्ने उद्देश्यले निर्माण सुरु गरिएको झोलुंगे पुल निर्माणको काम अनिश्चितजस्तै बनेको छ ।

नीलगिरी सेवा प्रा.(लि) बानेश्वर काठमाडांैले २०७२ भदौ ७ गते ठेक्का सम्झौता गरी १८ महिनामा काम सक्नुपर्ने प्रावधान राखिएपनि  ३९ महिना बितिसक्दासम्म दुईओटा पिल्लर गाड्ने बाहेक अरु काम अगाडि बढ्न सकेको छैन ।

ठेकेदारकै चरम लापरवाहीले मेची नदीको झोलुङ्ग पुललाई अलपत्रमा पारिएको र यसतर्फ सरोकारवाला पक्षले चासो नदिएको स्थानीयको गुनासो छ ।

पुल बनेपछि वारपार गर्न सहज हुने भन्दै हौसिएका स्थानीयको मनमा फेरि तुवाँलो लागेको छ ।

मेचीपारीका वासिन्दालाई पुल नबन्दा बर्खाको समयमा आवतजावत गर्न निकै सहसज हुने गरेको छ ।

विद्यालयमा पढाउन जाने शिक्षकलाई बर्खामा डुंगा वा पानी तैरिएर जानुपर्ने हुन्छ ।

तीन बर्षदेखि अलपत्र परेको पुल बन्छ भन्नेमा अझै अन्यौल रहेको मेची आधाभुत विद्यालयका शिक्षक कैलाश राईको भनाइ छ ।

सम्झौता अनुसार काम नभएको पनि वर्षौँ बितिसकेको छ तर सम्बन्धित पक्षले जिम्मा लिनेलाई कारबाही गर्न सकेको देखिँदैन ।

यता, भद्रपुर नगरपालिका ३ नम्बर वडा सदस्य अरुण राजवंशीका अनुसार निर्माण कम्पनीलाई दबाब दिने काम भइरहेको र बर्खा अगाडि पुल बनाउने निर्माण कम्पनीले प्रतिवद्धता जाहेर गरेको बताए ।